प्रस्तावित प्रधानन्यायाधीश जबराविरुद्ध उजुरी आह्वान, १० दिनभित्र ७७ जिल्लाबाट उजुरी दिन सकिने
काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस भएका चोलेन्द्रशमशेर जबराविरुद्ध सार्वजनिक उजुरी दिन आह्वान गरेको छ। आइतबार बिहान बसेको संसदीय सुनुवाइ समितिको बैठकले सोमबारदेखि १० दिनसम्मका लागि जबराविरुद्ध सार्वजनिक उजुरी दिन आह्वान गरिने निर्णय गरेको हो ।
जबराविरुद्ध पुस ११ गतेसम्म समितिसमक्ष र ७७ जिल्लाका प्रशासन कार्यालयमा उजरी दिन सकिने समिति संघीय संसद् सचिवालयले जनाएको छ । उजुरीकर्ताले चाहनाअनुसार सूचना गोप्य राख्न पनि सकिने समितिले जारी गरेको सूचनामा जनाइएको छ । तर सूचनादाताले आफ्नो नाम थर वतन सम्पर्क माध्यम स्पष्टरूपमा खुलाउनु समितिले आग्रह गरेको छ । समितिले ७७ जिल्लाका सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई जिल्ला प्रशासन कार्यालयलगायत सम्भव भएसम्म अन्य सरकारी कार्यालय एवं सार्वजनिक स्थानमा उजुरी संकलन गर्ने व्यवस्था गर्न समेत आग्रह गरेको छ।
सुनुवाइ समितिले जबराविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेको १० दिनपछि संकलित उजुरीमाथि सुनुवाइ हुनेछ । संवैधानिक परिषदको बैठकले मंसिर २७ गते सर्वसम्मतरूपमा जबरालाई प्रधानन्यायाधीश सिफारिस गरेको थियो । वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ गते उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि जबरा सर्वोच्च अदालतको २९ औँ प्रधानन्यायाधीशमा नियुक्ति हुनेछन्।
Cholendra Shamser Jabara