News प्रवास मुख्य समाचार

मलेसियामा नेपाली कार्यरत कम्पनीमा चरम श्रम शोषण, द गाडिर्यनले गर्‍यो खुलासा

मलेसियामा नेपाली कार्यरत कम्पनीमा चरम श्रम शोषण, द गाडिर्यनले गर्‍यो खुलासा

नेपालको प्रमुख वैदेशिक रोजगारीको गन्तव्य मुलुक मलेशियाका कम्पनीहरूमा कार्यरत विदेशी कामदारमाथि चरम श्रम शोषण हुर्ने गरेको खुलासा भएको छ । मलेसियामा रहेका दुई ग्लोभ अर्थात् पन्जा निर्माता कम्पनीमा कार्यरत विदेशी कामदारहरूमाथि श्रम शोषण भएको खुलासा भएको हो ।

 

ब्रिटेनस्थित 'द गाडिर्यन' पत्रिकाले एक अनुसन्धानात्मक रिपोर्ट सार्वजनिक गर्दै टप ग्लोभ र डब्लु आरपी एसिया प्यासिफिक नामक दुई कम्पनीमा चरम श्रम शोषण भएको बताएको हो । केही दिनअघि प्रकाशित उक्त रिपोर्टअनुसार ती कम्पनीहरूमा कार्यरत कामदारहरूलाई गैरकानुनी ढंगले धेरै समयसम्म काममा लगाइएको, पारिश्रमिक रोकिएको, होस्टल अव्यवस्थित भएको र मलेशियाली श्रम कानुनविपरित राहदानीहरू कब्जामा राखिएको लगायतका कामदारका अधिकारहरू हनन् भएको पाइएको बिबिसीले‍ जनाएको छ।

 

'द गार्डियन'ले ती दुई पन्जा कारखानामा कार्यरत नेपाली र बंगलादेशी कामदारसँग अन्तर्वार्ता गरेपछि त्यहाँ कामदारको अधिकारको हनन् भएको पाइएको आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । मलेशियामा एकजना कामदारले प्रति महिना १ सय ४ घन्टासम्म ओभर टाइम काम गर्न पाउने कानूनी प्रावधान छ ।

 

पन्जा बनाउने र निर्यात गर्ने कम्पनीहरूमध्ये टप ग्लोब सबैभन्दा ठूलो कम्पनी मानिन्छ । उक्त कम्पनीका ४० वटा फ्याक्ट्रीहरू रहेका छन्, जहाँ हजारौं नेपाली लगायत विदेशी कामदारहरू कार्यरत छन् । उक्त कम्पनीबाट विश्वका विभिन्न मुलुकहरूमा पन्जा निर्यात हुने गरेको छ। तीमध्ये ब्रिटेन पनि एक हो । रिपोर्टमा टप ग्लोभले ब्रिटेनको सप्लाई चेन कम्पनी 'नेशनल हेल्थ सर्भिस'मार्फत् ब्रिटेनमा सप्लाई हुने गरेको छ ।

 

तर ती कम्पनीहरूले भने उक्त रिपोर्ट झूट भएको भन्दै उल्लेखित आरोपहरूको खण्डन गरेका छन् । उनीहरूले प्रेस वक्तव्यहरू प्रकाशित गरेर अन्तर्राष्ट्रिय र राष्ट्रिय श्रम कानुनअनुसार नै कामदारहरूमाथि व्यवहार गरिएको भन्दै आफ्नो बचाउ गरेका छन् । उनीहरूले कामदारले राहदानी हराउन सक्ने भन्दै राहदानीको सुरक्षा गरी राखिएको दाबी गरेका छन्।

 

मलेशियाली मानव संशोधन मन्त्री एम कुलासेगरनले आफूलगायत मन्त्रालयका अधिकारीहरूसहितको टोलीले गत शुक्रबार उक्त कम्पनीका केही फ्याक्ट्रीहरू भ्रमण गरेको तर रिपोर्टमा आरोप लगाइएजस्तो नपाइएको दाबी गरेका छन् । 'हामीले त्यहाँ कार्यरत कामदारहरूलाई भेट्यौं । तर कानुनविपरित काममा लगाइएको भेटिएन', ती कम्पनीको भ्रमणपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'सबै रोजगारसम्बन्धी कानुनअनुसारै भएको पाइयो। बढी कमाइ गर्न सकिने भएकाले कामदारकै माग र इच्छाअनुसार कतिपयलाई ओभरटाइम उपलब्ध गराइएको पाइएको छ ।'

Malaysia Nepali workers

विशेष