डा केसीको दुईहप्ते अल्टिमेटम, माग पूरा नभए सत्याग्रहको चेतावनी
काठमाडौं । सरकारसँग सम्झौता गरेका र गत ११ मंसिरमा जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेखित माग पूरा नभए १७ पौषदेखि सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने डा गोविन्द केसीले चेतावनी दिएका छन् ।
सोमबार प्रेस विज्ञप्ती जारी गर्दै विधेयकमा कुनै चलखेल भएर माथेमा कार्यदलको प्रतिवेदन, यसअगाडि दुई पल्ट जारी भएका अध्यादेश तथा हामीसँग बारम्बार भएका सम्झौताहरुभन्दा प्रतिकुल हुने गरी चलखेल भएमा कुनै पनि बेला सत्याग्रह सुरु गर्ने केसीले बताए । नागरिक स्तरबाट बारम्बार झक्झकाउँदा पनि सरकार र देशको राजनीतिक नेतृत्व अझै पनि जवाफदेही र उत्तरदायी बन्न नसकेको विज्ञप्तीमा उल्लेख छ ।
‘बरु राज्यका हरेक अंगमा भ्रष्टाचार मौलाउँदो छ । चरम राजनीतिक हस्तक्षेप र भागवण्डाका कारण भ्रष्टाचार रोक्नु पर्ने निकायहरु आफैं भ्रष्टाचार र अनियमिततामा लिप्त छन् । प्रहरी लगायतका निकायहरु यस्तै राजनीतिक प्रभावका कारण कति गैर–व्यवसायिक र अक्षम बनेका छन् भन्ने कुरा निर्मला पन्तलगायतका बलात्कार र हत्या प्रकरणबाट उदांगो भएका छन् ।’ विज्ञप्तीमा उल्लेख छ । यो समाचार आजको नयाँपत्रिका दैनिकबाट लिइको हो ।