News मुख्य समाचार

पर्सामा डिजेल तस्कर प्रहरीमाथि नै जाई लागे, दुई असईसहित चार प्रहरी घाइते

पर्सामा डिजेल तस्कर प्रहरीमाथि नै जाई लागे, दुई असईसहित चार प्रहरी घाइते

पर्सा । पर्साको जगन्नाथपुर गाउँपालिका–१, पाँडेपुरका स्थानीय र तस्करले प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा प्रहरी सहायक निरीक्षकसहित चार प्रहरी घाइते भएका छन्।

 

प्रहरी चौकी पिडारीगुठीको गस्तीमा रहेको प्रहरी टोलीमाथि मंगलबार बिहान आक्रमण भएको हो । आक्रमणकारीले प्रहरीका हातहतियार पनि लुटेर लगेको भएता पनि घटनास्थलभन्दा केही परबाट बरामद गरिएको प्रहरीले जनाएको छ । 

 

आक्रमणमा नेपाल प्रहरीका असई विष्णुदेव यादव, जयकिशन महतो  प्रहरी हवल्दार प्रेमबहादुर राना र जवान अर्जुन चौधरी घाइते भएका छन् । तीमध्ये टाउकोमा चोट लागेर गम्भीर घाइते भएका प्रहरी जवान चौधरीको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिइएको छ । उनको वीरगन्जको एसएल न्युरो एन्ड जनरल अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ भने अन्य तीन जनाको वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

 

गएराति तीन बजेतिर नेपाल भारत सीमानाका पर्ने पर्साको जगननातथपुरबाट भारततर्फ डिजेल तस्करी भइरहेको सूचनाका आधारमा गस्तीमा गएको प्रहरी टोली तस्करलाई नियन्त्रण लिने क्रम उक्त आक्रमण भएको हो । प्रहरीका अनुसार स्थानीयले पनि तस्कर समूहलाई साथ दिएका थिए । पर्साका एसपी रेवती ढकालले तस्करले मोटरसाइकलमा भारततर्फ लैजाँदै गरेको डिजेलसहित दुई व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै आक्रमण भएको जानकारी दिए ।

 

गस्तीमा रहेका प्रहरीको संख्या थोरै हुँदा उनीहरुले प्रहरीमाथि नै आक्रमण गरेको उनको भनाइ छ । ढकालका अनुसार, करिब २० जनाको समूह प्रहरीमाथि जाइलागेका थिए । उनीहरूले प्रहरीमाथि आक्रमण गरी भारत तर्फ भागेका थिए । नेपालमा भन्दा भारतमा इन्धन महँगो पर्ने भएकाले पछिल्लो समय नेपाल–भारत सीमामा इन्धन तस्करी हुने गरेको छ ।
 

Nepal Police

विशेष