कांग्रेस महासमिति बैठकमा चार प्रतिवेदनमाथि छलफल जारी
काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा प्रस्तुत गरिएको चार प्रतिवदेन माथि सहभागीले आ–आफ्ना धारणा राख्ने क्रम बुधबार पनि जारी छ ।
बैठक राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथिको छलफलमा जारी भए पनि पार्टीको विधान मस्यौदा प्रतिवेदन भने बिहीबार मात्रै पेश हुनेछ । यसअघि विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाको विवादले उक्त प्रतिवेदन बैठकमा पेश हुनसकेको थिएन ।
बैठकको पाँचाँै दिनदेखि जारी बन्द सत्रमा आजसम्म करीब १५० महासमिति सदस्यले आफ्ना धारणा व्यक्त गरिसकेको र हालसम्म ५०० भन्दा बढीले बोल्न नाम टिपाएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
प्रतिवेदनमाथि धारणा राख्ने क्रममा सहभागीले पार्टीलाई राजनीतिक एकता कायम गरी सशक्त बनाउन, सरकारका गलत कामको निगरानी गर्न खरो ढङ्गले उपस्थिति जनाउन, कांग्रेसले विगतमा गरेका कामको राम्रोसँग सम्पेषण गर्नुपर्ने, आम नागरिकलाई छुने गरी आगामी योजना र कार्यक्रम बनाउनुपर्नेलगायतका सुझाव दिएका छन् ।
कांग्रेसले शीर्ष नेताले मङ्गलबार राति विधान मस्यौदा प्रतिवेदनमा देखिएको विवादको टुङ्गो लगाएका हुन् । सहमतिअनुसार अब पार्टीमा कूल १६१ केन्द्रीय समिति रहने र त्यसमा ३३ केन्द्रीय सदस्य समावेशिताका आधारमा सभापतिबाट मनोनीत हुनेछन् । त्यस्तै एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, दुई सहमहामन्त्री र एक कोषाध्यक्षसहित आठ पदाधिकारी रहनेछन् । कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने र कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनयन गर्ने निर्णय भएको छ ।
महासमिति बैठक गत मङ्सिर २९ देखि पुस ३ गतेसम्म निर्धारण गरिएको थियो । निर्धारित समयमा छलफल नसकिने भएपछि बैठक लम्बिएको र पुस ६ गतेसम्म जारी हुने कांग्रेसले जनाएको छ ।
शुरुआतदेखि बुधबारसम्म सिंहदरबार मूल गेट नजिकको यगम्बर पार्टी प्यालेसमा भइरहेको महासमिति बैठक भोलिदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।
कांग्रेसले संविधानको सङ्घीय व्यवस्थाअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । समितिले मुलुकभरबाट सुझाव सङ्कलन गरी मुलुकको सङ्घीय संरचनाअनुसार पार्टीको विधान संशोधन गर्न मस्यौदा तयार गरेको थियो ।