News राजनीति

राजकीय सम्मानबिना नै डा गिरीको अन्त्येष्टि

राजकीय सम्मानबिना नै डा गिरीको अन्त्येष्टि

काठमाडौं ।  पूर्वप्रधानमन्त्री एवं मन्त्रिपरिषद्का उपाध्यक्ष डा तुलसी गिरीको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरियो ।  बुधबार पशुपतिस्थित विद्युतिय शवदाह गृहमा गिरीको अन्तिम संस्कार गरिएको हो । 

 

डा गिरीको अन्तिम इच्छाबमोजिम अन्त्येष्टिमा राज्यले उपलब्ध गराउने राजकीय सम्मान प्रदान गरिएन । गिरीले मृत्युअघि सामान्य नागरिक सरह आफ्नो अन्तिम संस्कार गर्न इच्छा जाहेर गरेकाले सोही अनुसार अन्तिम संस्कार गरिएको हो । विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्ने पहिलो पूर्वप्रधानमन्त्री डा गिरी बनेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपतिमा अन्त्येष्टि गरिए पनि गिरीका नाममा कुनै कर्म नगरिने पारिवारिक स्रोतले जनाएको छ । डा गिरीको अन्त्येष्टिमा पूर्वउपप्रधानमन्त्री भीम रावल, पूर्वउपप्रधानमन्त्री कमल थापा, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरी, पूर्व मन्त्री सुनीलबहादुर थापा, टङ्क ढकाललगायत नेता पशुपति पुगेका थिए ।

 

डा गिरीको मङ्गलबार बिहान ९३ वर्षको उमेरमा  निधन भएको थियो । महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र शाहको शासनकालमा डा गिरी प्रधानमन्त्री र मन्त्रिपरिषद्को उपाध्यक्ष बनेका थिए ।  नेपाली कांग्रेसबाट राजनीति शुरु गरेका गिरी विसं २०१७ पुस १ गतेको शाही कदमपछि पञ्चायतमा सक्रिय भएका थिए ।

 

विशेष