News प्रदेश ७

दोधारा–चाँदनी झोलुङ्गे पुल ‘पिकनिक स्पट’ बन्दै

दोधारा–चाँदनी झोलुङ्गे पुल ‘पिकनिक स्पट’ बन्दै

महेन्द्रनगर । कञ्चनपुरको महाकाली पारीका बस्ति जोड्ने झोलुङ्गे पुल नजिक महाकाली नदी किनार नर्सरीमा बन्ने पिकनिक स्पट र उद्यानको जमिन घेरबार गरिएको छ ।

 

भीमदत्त नगरपालिकाले गत आर्थिक वर्षमा पिकनिक स्पट र उद्यानको गुरु योजना बनाएको थियो ।

 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र झोलुङ्गे पुल आउने पर्यटकहरुलाई मध्यनजर गरी पिकनिक स्पट र उद्यान बनाउन लागिएको हो । चालू आर्थिक वर्षमा यसका लागि ५० लाख बजेट विनियोजन गरिएको छ ।

 

चार बिगाहा भन्दा बढी जमिन पिकनिक स्पट र उद्यानका लागि तारबार गरिएको छ ।

 


भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र झोलुङ्गे पुल आउने पर्यटकहरुलाई मध्यनजर गरी पिकनिक स्पट र उद्यान बनाउन लागिएको बताए ।

 

‘पर्यटकहरुलाई सुविधा होस, आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका लागि यस क्षेत्रमा पिकनिक स्पट र उद्यान बनाउन लागिएको हो’ उनले भने,‘यस वर्षमा काम सुरु गर्छौ, त्यसका लागि तेस्रो नगर सभाबाट बजेट विनियोजन गरिएको छ ।’

 

नगर प्रमुख विष्टले झोलुङ्गे पुल आउने पर्यटकलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीसारमा पुगाएर हात्ती र नजिकको जमुनाभाडी पुगाएर चित्तल देखाउने तथा त्यसपछि राना थारु होमस्टेमा पुगाएर आदिवासी समुदायको संस्कृति अवलोकन गराउने लक्ष्य सहित पिकनिक स्पट र उद्यान निर्माणको योजना अघि सारिएको बताए ।

 

झोलुङ्गे नगर क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा देखिएकाले यसको संरक्षण तथा प्रवद्र्धनका लागि नगरपालिका सक्रिय रुपमा लाग्ने उनले बताए ।

 

चालू आर्थिक वर्षमा पिकनिक तथा बाल उद्यान क्षेत्रमा शौचालय, वसपार्क सहितका पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको छ ।


शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पार्क एण्ड पिपुल प्रोजेक्ट अन्र्तगत यस क्षेत्रमा स्थानीय राम बुढाले नर्सरी बनाएका थिए । निकुञ्जका हात्तीको आक्रमणबाट केही वर्ष अघि बुढाको ज्यान गएको थियो ।

 

भीमदत्त नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष लाल बहादुर शाहीले महाकाली नदीले धार बदलेपछि खाली जमिनमा स्थानीय बुढाले नर्सरी निर्माण गरेको बताए ।

 

बगरमा पिकनिक स्पट र उद्यान निर्माण हुने भएपछि स्थानीयले गाउँमा रोजगारीका अवसर आउने आशा गरेका छन् ।

 

स्थानीय डम्मर देउपाले पर्यटन प्रवद्र्धन भएर स्थानीयलाई फाइदा हुने बताए । यो समाचार नेपाल समाचारपत्रबाट लिइएको हो ।

कञ्चनपुर दोधारा–चाँदनी झोलुङ्गे पुल

विशेष