पुलिस र बीबीसीबीचको खेल बराबरी , पुलिसको कमजोर प्रदर्शन
काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) सँग बराबरी खेलेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा पुलिस र बीबीसीले १-१ गोलको बराबरी खेलेका हुन् ।
बीबीसीसँगको खेलमा बलियो मानिएको पुलिसले कमजोर प्रदर्शन गर्यो । खेलमा पहिलो गोल बीबीसीले गर्यो । उसका लागि खेलको सुरुवाती समय अर्थात् पाँचौं मिनेटमा कजिम बुसारीले गोल गरे । त्यसपछि पहिलो हाफमा दुवैपक्षबाट कुनै गोल हुन सकेन ।
पहिलो हाफमा एक गोलले पछि परेको पुलिसले खेलको दोस्रो हाफमा गोल गर्दै खेल बराबरी बनाएको हो । पुलिसका लागि अभिषेक रिजालले खेलको ७५औं मिनेटमा गोल गरे । बराबरीसँगै अंक बाडेको पुलिसको हालसम्म ९ खेलबाट १५ अंक बनाएको छ ।
यस्तै बीबीसीको भने ९ खेलबाट पाँच अंक रहेको छ । लिगको शीर्ष स्थानमा भने मनाङ मर्स्याङ्दी क्लब रहेको छ । मनाङको ९ खेलबाट २७ अंक रहेको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको संकटाको ९ खेलबाट २४ अंक रहेको छ ।