एसएसपीको दरबन्दी पूर्ति गर्न नियमावली संशोधन हुँदै
काठमाडौं । नेपाल प्रहरीमा तीन महिनादेखि रिक्त १५ एसएसपीको दरबन्दी पूर्ति गर्न सरकारले प्रहरी नियमावली संशोधन गर्न लागेको छ ।
अहिलेको नियमावलीअनुसार हालका कुनै पनि एसपीलाई बढुवा गर्न नमिल्ने भएपछि गृह मत्रालयले नियमावली संशोधन गर्न लागेको हो ।
एसपीबाट एसएसपी हुन चार वर्ष पदावधि पुग्नुपर्ने मापदण्ड छ । तर, यो मापदण्ड पुगेको एसपी एउटै पनि नहुँदा बढुवा प्रक्रिया नै रोकिएको छ ।
अब तीन वर्ष एसपी बनेपछि एसएसपीमा बढुवा हुने मापदण्ड राखेर नियमावली संशोधन गर्न लागिएको हो ।
नियमावली संशोधनका लागि कानुन मन्त्रालयले समेत सहमति दिइसकेको गृह मन्त्रालयले जनाएको छ ।
लोकसेवा आयोगको रायपछि नियमावली मन्त्रिपरिषद्मा पेस गर्ने तयारीमा छ ।
पद रिक्त राख्दा संगठनलाई असर पर्न सक्ने र प्रहरीको मनोबल पनि खस्किने भएकाले नियमावली संशोधन गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ ।
पूर्वएसएसपी यादवराज खनालले दायर गरेको रिटमा सर्वोच्च अदालतले पनि बढुवाबाट पूर्ति हुने कुनै पनि पदमा तीन महिनाभित्र बढुवा गर्न सरकारलाई आदेश दिएको थियो ।
तीन महिनाभित्र बढुवा नगरे बढुवा समितिका पदाधिकारीलाई कारबाही गर्नसमेत सर्वोच्चले आदेश दिएको थियो । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
एसएसपी दरबन्दी नियमावली संशोधन