News अपराध सुरक्षा

९ वर्षीया बालिका श्रेयाका हत्यारालाई बाँचेसम्म कैदको फैसला

९ वर्षीया बालिका श्रेयाका हत्यारालाई बाँचेसम्म कैदको फैसला

पोखरा । मुलुकी अपराधसंहिता २०७४ लागू भएपछि कास्की जिल्ला अदालतले देशमै पहिलोपल्ट प्रतिवादीलाई जीवित रहेसम्म कैदको फैसला सुनाएको छ । कास्कीको पुम्दीभुम्दीमा ९ वर्षीया बालिका श्रेया विक (श्रीया सुनार)लाई बलात्कारपछि हत्या गर्ने कुसुम पौडेललाई अदालतले बुधबार आजीवन कारावासको सजाय सुनाएको हो ।

 

जिल्ला न्यायाधीश योगन्द्रप्रसाद साहको इजलासले गरेको फैसला नेपालको न्यायिक इतिहासमा कसूरदार जीवित रहेसम्म कैदमा राख्ने गरी भएको पहिलो हो । अदालतका स्रेस्तेदार जगन्नाथ पौडेलले संहिताको दफा ४१ ले गरेको व्यवस्था बमोजिम सजाय निर्धारण गरेको बताए । ‘विभिन्न ६ अपराधमा जीवित रहेसम्म कैद फैसला गर्ने व्यवस्था छ,’ उनले भने, ‘जबर्जस्ती करणीपछि हत्या पनि त्यसमध्ये एक भएकोले उक्त फैसला आएको हो ।’

 

पोखरा–२२ पुम्दीभुम्दीको कोदीमा गत असोज ८ मा स्थानीय २७ वर्षीय कुसुम पौडेलले श्रेयाको बलात्कार र हत्या गरेका थिए । असोज २२ मै श्रेयाको परिवारले पौडेलविरुद्ध मुद्दा दायर गरेको थियो । अदालतले मंसिर १७ मा पौडेलले श्रेयालाई जबर्जस्तीकरणी गरी मारेको कसुर ठहर गरेको थियो । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।
 

श्रीया सुनार

विशेष