इन्टरनेट महँगिने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको पोल प्रयोग गरेर इन्टरनेट सेवा दिने सेवाप्रदायकलाई नयाँ भाडा दर कायम भएको छ ।
यसले अब पुनः इन्टरनेट सेवा थप महँगो हुने भएको छ । विद्युत् प्राधिकरणले नयाँ भाडा दर कार्यान्वयन गरे अब इन्टरनेट सेवा महँगो पर्न जाने भन्दै इन्टरनेट सेवाप्रदायक संघ नेपाल (इस्पान) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
इस्पानका अध्यक्ष भोजराज भट्टद्वारा जारी गरिएको ध्यानाकर्षण पत्रमा सञ्चार तथा प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई बोधार्थ दिइएको छ ।
सो ध्यानाकर्षण पत्रमा इन्टरनेट सेवाप्रदायकले विद्युत् प्राधिकरणको पोल तथा ओपीजीडब्लू फाइबर प्रयोग गरेर देशभर नेटवर्क विस्तार गरी सेवा दिइरहेको उल्लेख छ ।
तर, प्राधिकरणको नयाँ भाडा दर रेटसम्बन्धी जानकारीले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको भट्टले सरकारलाई बुझाएको सो ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।
संघका अध्यक्ष भट्टका अनुसार त्यो दर रेट लागू भएमा इन्टरनेट सेवाको मूल्य उल्लिखित रूपमा वृद्धि हुनेछ ।
यस ध्यानाकर्षण पत्रमा गत साउनबाट थप १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क टीएससी लागू हुँदा उपभोक्ताले विरोध गरेपछि सञ्चार मन्त्रालयको पहलमा अरिरिक्त कर समायोजन भएको समेत उल्लेख गरिएको छ ।
तर, ५ गुणासम्म भाडा वृद्धि गरिएको विषय निकै अस्वाभाविक हो, भनिएको छ ।
यसैगरी, संघले आफ्नो ध्यानाकर्षण पत्रमार्फत न्यायोचित भाडादर कायम गर्न विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, इस्पान, केबल टिभी महासंघ समेतको समिति गठन गरिनुपर्ने माग गरेको जनाएको छ । यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।
इन्टरनेट