फेरि जोडिदैछ भारतसँग रेल सञ्जालमा नेपाल
काठमाडौं । अत्याधुनिक प्रविधि र उच्च गतिको चिनियाँ रेलको चर्चा भइरहँदा नेपालमा शुरुमा भने भारतबाट आधुनिक रेल भित्रिने भएको छ । जयनगरबाट जनकपुरसम्मको ३४ किलोमिटर रेलमार्गमा नयाँ प्रविधिको रेल गुड्ने भएको छ ।
यो रेल सञ्चालनपछि नेपाल र भारतका व्यापारी एवं तीर्थयात्रीहरु लाभान्वित हुनेछन् । बिहारको सहर जयनगर र जनकपुरसम्म अहिले धुलाम्मे सडक छ । सो सडकमा मानिसहरु दैनिक उपभोग्य सामानहरु ओसारपसारका लागि प्रयोग गर्छन् । भारतमा अंग्रेजहरुले शासन गर्दा तराईको काठ लैजान सन् १९३७ मा अढाई फुटे न्यारोबडी रेलका लागि लिक विछ्याइएको थियो । सो रेल सन् २०१४ सम्म जीर्णअवस्थामा चल्यो ।
अहिले जनकपुर–जयनगर रुटमा विछ्याइएको लिकमा ठूलो आकारका रेल सञ्चालन हुन सक्छ । यो रुटमा रेल सञ्चालन हुन थालेपछि बढी सामान ढुवानी गर्न सकिने छ भने बढी यात्रुले पनि सेवा पाउन सक्छन् ।
जनकपुरस्थित जानकी मन्दिरमा हजारौंको संख्यामा भारतीय तीर्थयात्रीहरु आउने भएका कारण नयाँ रेलले यातायात सेवा पुर्याउने अपेक्षा गरिएको छ । वस्तु आयातका लागि पनि यो रेल उपयोग हुनेछ । नेपालले कनेक्टिभिटीमा जोड दिइरहेको सन्दर्भमा जनकपुर–जयनगर रेल सेवाको पुन सञ्चालनले नयाँ आशा जगाउन सक्छ ।
जनकपुर–जयनगर चल्ने रेल नेपालको आफ्नै हो । रेलको स्तरोन्नतीका लागि भारतीय सहयोग पनि रहेको छ । रेलको इञ्जिनदेखि डिब्बाहरुको मुख्य खर्च नेपाल सरकारले गरेको छ । ब्रोडगेज रेल चलाउने प्राविधिक नेपालमा नभएका कारण केही वर्ष विदेशी कम्पनीलाई सञ्चालनको जिम्मेवारी दिने सरकारको तयारी छ ।
चीनसँग केरुङ–काठमाडौंं रेल मार्गको कुरा पनि चर्चामा छ । तीन खर्ब लागत र ८ वर्षमा निर्माण पूरा गर्ने भनिएको सो मार्ग नेपालका लागि कति उपयोगी होला ? भन्ने विषयमा अझै बहस नै भइरहेको छ । वस्तु आयातका लागि यति धेरै रकम खर्च गरेर नेपाल रेलमार्ग निर्माण गर्ने क्षमता राख्दैन । चीनले आफ्नै खर्चमा काठमाडौंसम्म रेलमार्ग निर्माण गरोस् भन्ने नेपाली पक्षको चाहना छ । यो मार्गबारे नेपाल–चीनबीच केही समझदारी त भएका छन् तर कुनै ठोस सम्झौता भइसकेको छैन ।