१६ वर्ष मुनिका ४ जना चोरीको आरोपमा पक्राउ
काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले चोरी कार्यमा संलग्न चारजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको नयाँ बजार बस्ने काभ्रेका १६ वर्षीय प्रज्वल तामाङ, ढल्कु क्षेत्रपाटी बस्ने रामेछापका १५ वर्षीय अनिल तामाङ स्वयम्भु बस्ने मकवानपुरका १५ वर्षीय राजीव देउला र काठमाडौंको पकनाजोल बस्ने दोलखाका १६ वर्षीय निमा तामाङ रहेका छन् ।
उनीहरु सँग सोधपुछको क्रममा चोरी गर्न प्रयोग हुने सामान भेटिएको
वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईँले जानकारी दिए ।
प्रहरीका अनुसार उनीहरुले निमाको नेतृत्वमा काठमाडौंका विभिन्न ठाउँमा घर फोडेर चोरी गर्ने गरेका थिए ।
पक्राउ परेकासँग प्रहरीले रु ६६ हजार ५७५ नगद, ल्यापटप तीन थान, मोबाइल नौ थान, आइफोन एक थान, ढलोटको मुर्ति एक थान, सुनको औँठीजस्तो देखिने औँठी एकथान, तिलहरी एक थान, चाँदीको चुरा तीन थान, पुजाका सामाग्रीहरू, पेचकस एक थान, छिनो दुई थान, घडी एक थान, दाउ एक थान, हाते ब्याग एक थान र लुगा बोक्ने झोला दुई थान बरामद गरेको छ ।
चारजनाले चोरेर ल्याएको सामान कामनपा—१७ ढल्कुस्थित लक्ष्मीनारायण तण्डुकारको घरको दोस्रो तलामा अनिल तामाङले लुकाएर राख्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । पक्राउ परेकासँग थप अनुुसन्धान भइरहेको वृत्तले जनाएको छ ।