News अपराध सुरक्षा मुख्य समाचार

सात वर्षअघिको आफ्नै फैसला उल्टाएर भ्रष्टाचारीलाई सफाइ

सात वर्षअघिको आफ्नै फैसला उल्टाएर भ्रष्टाचारीलाई सफाइ

काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा सात वर्षअघिको आफ्नै फैसला उल्टाएर दुईजनालाई सफाइ दिएको छ । न्यायाधीशहरू शारदाप्रसाद घिमिरे, पुरुषोत्तम भण्डारी र डम्बरबहादुर शाहीको पूर्ण इजलासले झूटा विवरण र कागजातका आधारमा कर्जा लेनदेन मुद्दामा भ्रष्टाचारी ठहर भएका मध्ये दुईजनालाई बिहीबार सफाइ दिएको हो । सफाइ पाउनेमा कृषि विकास बैंकका तत्कालीन कर्मचारीद्वय मीनबहादुर जिसी र गोविन्दप्रसाद जोशी छन् ।

 

सर्वोच्चका तत्कालीन न्यायाधीशहरू कल्याण श्रेष्ठ र बैजनाथ उपाध्यायको संयुक्त इजालासले २०६८ कात्तिक १ मा उनीहरूलाई भ्रष्टाचारी ठहर गरेको थियो । अहिले सो फैसला उल्टाएर सफाइ दिइएको हो ।

 

११ वर्षअघि कृषि विकास बैंक, महाराजगन्जबाट ऋण लिनेदिने विषयमा भएको अनियमितताविरुद्धको मुद्दामा विशेष अदालतले जिसी र जोशीसहित नौ जनालाई भ्रष्टाचार ठहर गरेको थियो । विशेष अदालतको फैसलाविरुद्ध उनीहरूले सर्वोच्चमा पुनरावेदन गरेका थिए । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश श्रेष्ठ र उपाध्यायको संयुक्त इजलासले विशेष अदालतकै फैसला सदर गरेको थियो । सर्वोच्चले पनि भ्रष्टाचार ठहर गरेपछि जिसी र जोशीले मात्रै मुद्दा पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दिएका थिए । यो खबर आजको नागरिकबाट लिइएको हो ।
 

सर्वोच्च अदालत भ्रष्टाचार मुद्दा

विशेष