क्याम्ब्रिज एनलिटिका प्रकरणलाई लिएर अमेरिकाद्वारा फेसबुकविरुद्ध मुद्दा दायर
एजेन्सी । अमेरिकी राष्ट्रपतीय निर्वाचत ताका गोप्य सूचना चुहावट प्रकरणलाई लिएर अमेरिकाले फेसबुकविरुद्ध पहिलोपटक कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको छ । राजधानी वासिङ्टन डिसीका प्रमुख अभियोजनकर्ताले क्याम्ब्रिज एनलिटिकासँग जोडिएको गोप्य सूचना चुहावट प्रकरणमा फेसबुकको भूमिकालाई दण्डित गर्ने उद्देश्यले फेसबुकविरुद्ध मुद्दा दायर गरेका हुन् ।
फेसबुकले चाहिँ डिस्ट्रिक्ट अफ कोलम्बियाका महान्यायाधीवक्ताले बुधवार दर्ता गरेको मुद्दाबारे अध्ययन गरिरहेको बताएको छ । महान्यायाधीवक्ता कार्ल रासिनले दायर गरेको अभियोगमा फेसबुकविरुद्ध करोडौँ प्रयोगकर्ताका व्यक्तिगत विवरण दुरुपयोग गरेको उल्लेख गरिएको बिबिसीले जनाएको छ । तर फेसबुकका प्रवक्ताले आफ्न फर्म विरुद्ध लागेको अभियोगको अहिले अध्ययन भइरहेको बताए । उनले बीबीसीलाई भने 'अभियोगका सम्बन्धमा वासिङ्टन डीसी र अन्य स्थानमा रहेका कानुनविद्हरूसँग परामर्श लिने काम भइरहेको छ।'
फेसबुकका क्रियाकलाप र लापरबाहीका विषयमा यसअघि पनि केही अनुसन्धानहरू भइसकेका छन् । पछिल्लो अभियोगका अतिरिक्त फेसबुकमाथि अमेरिकाको न्याय मन्त्रालय, सेक्युरिटिज एन्ड एक्सचेञ्ज कमिशन र फेडेरल ट्रेड कमिशन जस्ता आयोगहरूले छानबिन गरिरहेका छन् । यता फेसबुकको सूचना चुहावटकै विषयलाई लिएर आयरल्यान्डमा पनि अनुसन्धान जारी छ । फेसबुकका अनेक सुरक्षा कमजोरीहरूमाथि अनुसन्धान गरिरहेको आइरिस तथ्याङ्क सुरक्षा नियामक निकायले फेसबुकलाई झन् धेरै समस्यामा पार्ने देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले विश्लेषण गरेका छन् ।
त्यस्तै ब्रिटेनले क्याम्ब्रिज एनालिटिका प्रकरणमा फेसबुकको भूमिकालाई लिएर पाँच लाख पाउन्ड जरिवाना गरिएको गरेको छ। सो जरिवाना ब्रिटेनको डेटा नियामक निकायले असुलेको अधिकतम रहेको बताइएको छ ।