बेलायतको दोस्रो ठूलो विमानस्थल ड्रोनका कारण २४ घण्टादेखि ठप्प
एजेन्सी । ब्रिटेनको दोस्रो ठूलो विमानस्थलमा एउटा ड्रोनका कारण हवाई सेवा अस्तव्यस्त बनेको छ । ड्रोनका कारण विगत २४ घन्टादेखि ग्याट्विक विमानस्थल ठप्प हो ।
ड्रोन संकटका कारण त्यो विमानस्थल प्रयोग गर्ने लाखौँ यात्रुहरू मर्कामा परेको बिबिसीले जनाएको छ । ड्रोनका कारण शुक्रबारसम्म ज्याट्विक विमानस्लन बन्द नै रहने एक अधिकारी जेसन टिङ्लेले बताए । उनले 'प्रहरीले जसरी भएपनि त्यो ड्रोनलाई आकाशबाट पर पुर्याइछाड्ने' बताएका छन् ।
हवाई सेवा खलबलाइदिएको ड्रोनलाई गोली हानी जमिनमा झार्ने विकल्पकाबारे त्यहाँको प्रहरीले छलफल गरिरहेको बताइएको छ । विमानस्थल क्षेत्रमा उडिरहेको ड्रोनले विमानहरूको उडान तथा अवतरण प्रभावित पारेपछि प्रहरीले ड्रोनलाई गोली हानी खसाल्ने उपायबारे छलफल थालेको हो ।
तर त्यो उपायलाई यसअघि ससेक्स् प्रहरीले गोली अन्यत्र छरिन सक्ने भन्दै अस्वीकार गरिदिएको थियो । प्रहरीले अहिले ड्रोनलाई खसाल्नु अघि त्यसको बनावट र ढाँचाको जानकारी लिने प्रयास गरिरहेको बताइएको छ ।
विमानस्थल सञ्चालन कार्यालयले बिहीवार साँझसम्म पनि सो ड्रोनको गैरकानुनी गतिविधिहरू देखिएकाले एउटा मात्र धावन मार्ग भएको त्यो विमानस्थल खोल्न कठिन भइरहेको जनाएको छ ।