भैरहवालाई हराँउदै ललितपुरले जित्यो इपिएल उपाधि
काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको उपाधि ललितपुरले जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट टोलीका ज्ञानेन्द्र मल्लको नेतृत्व टोली ललितपुर र शरद भेषवाकरको टोली भैरहवा ग्लाडिएटर्सबीच खेल भएको थियो।
ललितपुरले दिएको १५६ रनको लक्ष्य पछ्याएको भैरहवाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४१ रन मात्रै बनाउन सक्यो ।
१५ ओभरसम्म खेल भैरहवाको पक्षमा थियो । उसले मात्र ३ विकेट गुमाएर १०४ रन जोडिसकेको थियो ।
तर, १६ औं ओभरको पहिलो बलमै पवन शरार्फले उनको रवि इन्दरको विकेट लिए । अर्को ओभरमा ललित राजवंशीले भैरहवाका कप्तान शरदको विकेट लिएपछि खेल ललितपुरको पक्षमा गयो ।
लगातार दबावमा परेको भैरहवालाई अन्तिम ओभरमा १७ रन चाहिएको थियो तर, दुई रन आउटसहित तीन विकेट गुमाउँदै १४ रनको हार स्वीकार गर्यो ।
भैरहवाका लागि प्रदीपले २२ बलमा चार चौका र एक छक्काको मद्दतमा ३४ रन बनाएर आउट भए । रवि इन्दर सिंहले ३२ बलमा २९ रन बनाए । कप्तान शरद भेषावकरले १४ रन बनाए ।
ललितनारायण राजवंशीले चार ओभरमा १७ रन खर्चेर तीन विकेट लिए पवन सर्राफ र योगेन्द्रसिंह कार्कीले समान २/२ विकेट लिए ।
यसअघि ललितपुरले निर्धारित २० ओभर सकिन पाँच बल बाँकी छदा सबै विकेटको क्षतिमा १५५ रन बनाएको थियो ।