News देश

विन्ध्यवासिनी मन्दिर पुगेका ज्ञानेन्द्रलाई समर्थकले भने - ‘राजा आउ देश बचाउ’

विन्ध्यवासिनी मन्दिर पुगेका ज्ञानेन्द्रलाई समर्थकले भने  - ‘राजा आउ देश बचाउ’

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार  विन्ध्यवासिनी मन्दिरमा पुजा गरेका छन् । निजी पारिवारिक भ्रमणमा पोखरा पुगेका पूर्वराजा शाहले पत्रकारसँग कुरा गर्दै पोखरेली जनताको माया, ममता र सद्भावले गर्दा आफू पटक–पटक यहाँ  आएको बताएका छन् । उनीसँगै पूर्वरानी कोमल शाह समेत विन्ध्यवासिनी मन्दिर पुगेकी थिईन् ।

 

पूर्वराजा शाहले पोखरा सुन्दर भएकोले गर्दा आफू आएको बताएका छन् ।  पोखरेलीको स्वागत र सत्कार देख्दा आफूलाई गर्व महसुस भएको समेत उनले बताए । पूर्वराजा ज्ञानेन्द्रलाई स्वागतका लागि पोखराको नालामुखदेखि विन्ध्यवासिनी मन्दिरसम्मको करीब १ किलोमिटर क्षेत्रमा समर्थक लामवद्ध थिए ।

 

करिब सवा ११ बजे विन्ध्यवासिनी मन्दिरमा पुगेका पूर्वराजा शाहले करीब २० मिनेटसम्म पूजाआजा गरेका थिए । पूर्वराजा शाहको स्वागतको लागि पञ्चेबाजा र झाँकीसमेत प्रदर्शन गरिएको थियो ।

 समर्थकले ‘गणतन्त्र मुर्दावाद, राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, टोलटोलमा हल्ला छ, राजा ल्याउने सल्लाह छ लगायत नाराबाजी गरेका थिए । उनको स्वागतका लागि राप्रपा, शिवसेना, पूर्वपञ्च सक्रिय छन् ।

पूर्वराजालाई हेर्नका लागि सर्वसाधारणको ठूलो भीडसमेत लागेको थियो । नालामुखदेखि मन्दिरसम्मको सडकमा यातायात आवागमन नै बन्द गरेर उनको स्वागत गरिएको थियो । 


दुई सातासम्म पोखरामा बस्ने पूर्वराजा शाह पोखराको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एण्ड स्पामा बसेका छन् । उनले यो समयमा पोखराका विभिन्न मठ मन्दिरको दर्शन गर्नुको साथै राप्रपा अध्यक्ष कमल थापा ,शिवसेनाका सदस्य तथा पूर्वपञ्चहरुले भेट गर्ने भएका छन् ।
शुक्रबार उनले अध्यक्ष थापासँग उनी बसेको होटेलमा भेट गरेको विषय विभिन्न सञ्चारमाध्यमहरुले सार्वजनिक गरेको छ । यस्तै उनले विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिलाई समसामयिक परिस्थितिबारे छलफल गर्दैआएको बताइएको छ ।


सोमबार ज्ञानेन्द्रको स्वागतमा सयौंको संख्यामा उनका समर्थकहरु पोखरा विमानस्थल पुगेका थिए । उनले विमानस्थलमा बोल्दै जनताले बोलाएको ठाउँमा जाने बताएका थिए । पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र २०६९ असोजमा पोखरा भ्रमणमा रहँदा विन्ध्यवासिनी मन्दिर दर्शन गरेका थिए । 

विशेष