News मुख्य समाचार

बूढीगण्डकीका विषयमा गेजुवासँग तीन दिन वार्ता, निर्णय गुपचुप

बूढीगण्डकीका विषयमा गेजुवासँग तीन दिन वार्ता, निर्णय गुपचुप

काठमाडौं । बूढीगण्डकी निर्माणको विषयमा चाइना गेजुवा ग्रुप कम्पनीका प्रतिनिधिसँग तीन दिन वार्ता गरे पनि सरकारले निष्कर्ष गोप्य राखेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन भन्दै बुधबारदेखि शुक्रबारसम्म वार्ता गरेको थियो ।

 

‘गेजुवा र ऊर्जा मन्त्रालयका प्रतिनिधिबीचको वार्ता शुक्रबार टुंगिएको छ’, मन्त्रालयका एक अधिकारीले भने, ‘के निष्कर्ष निस्कियो हामीलाई पनि भनिएको छैन ।’ असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीका गेजुवासँग समझदारी गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको थियो । सोही निर्णयलाई आधार मान्दै मन्त्रालयले चिनियाँ कम्नीका प्रतिनिधिसँग यसै साता वार्ता गरेको हो ।

 

‘१२ सय मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना ईपीसीएफ मोडलमा विकास तथा निर्माण गर्न  सम्झौता गर्ने’, सार्वजनिक गरिएको मन्त्रिपरिषदको निर्णयमा भनिएको छ । सार्वजनिक गरिएको निर्णयमा ईपीसीएफ मोडलमा समझदारीपत्रमा हस्ताक्षर गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिइए पनि कम्पनीको नाम खुलाइएको छैन । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।
 

ऊर्जा मन्त्रालय

विशेष