दिगम्बर झालाई हटाउन नेकपाका ४३ केन्द्रीय सदस्यको माग, सरकारले भ्रष्टलाई राजनीतिक नियुक्ति दिएको आरोप
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ४३ जना केन्द्रीय सदस्यले सरकारले भ्रष्टलाई राजनीतिक नियुक्ति दिएको भन्दै ती नियुक्ती खारेज गर्न माग गरेका छन् । जारी स्थायी समिति बैठकमा छलफलको विषय बनाउन माग गर्दै अध्यक्षद्वयलाई सम्बोधन गरी केन्द्रीय सदस्यले पठाएका हुन्।
उनीहरूले पठाएको पत्रमा सरकारले लिएको ‘भ्रष्टाचार विरोधी शून्य सहनशीलता’ नीति तथा प्रधानमन्त्रीले ‘म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्नँ’ भन्ने घोषणाविपरित भ्रष्टलाई राजनीतिक नियुक्ति दिइएको आरोप लगाइएको छ । उनीहरुले पत्रमा दिगम्बर झाजस्ता भ्रष्टलाई राजनीतिक नियुक्ति गरेको र सरकारको सिफारिसमा राष्ट्रपतिबाट भ्रष्ट र विवादित ब्यक्तिहरुलाई विभूषित गरेको जनाएका छन् ।
नेताहरुले भ्रष्ट र विवादित ब्यक्तिलाई राजनीतिक नियुक्ति गर्दा सरकारको गरीमा र लोकप्रियतामा गम्भीर धक्का पुगेको जनाएका छन् । ुदिगम्बर झा र उनीजस्ता भ्रष्टाचारमा विवादित भएकाहरुलाई यथासिघ्र पदबाट बर्खास्त गर्नका लागि पार्टीको तर्फबाट सरकारलाई आवश्यक निर्देशन दिइयोस् भन्ने समेत विनम्र अनुरोध गर्न चाहन्छौं।’ पत्रमा भनिएको छ।
केन्द्रीय सदस्यहरु कृष्ण केसी, ठाकुर गैरे, माधब अर्याल, भाष्कर काफ्ले, रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा र डा. विजयकुमार पौडेलद्वारा हस्ताक्षरित सो पत्रमा रामचन्द्र झा, विरोध खतिवडालगायत ३६ जना नेताहरुले विद्युतीय माध्यमबाट आफ्नो सहमति प्रकट गरेको उल्लेख छ । सरकारले नेपाल दूरसंचारका पूर्वअध्यक्ष झालाई गत भदौ २१ गते पुनः अध्यक्षमा नियुक्त गरेको हो ।