विदेश मुख्य समाचार

इण्डोनेसियामा ज्वालामुखी विस्फोटपछि आएको सुनामीमा परी ४३ मृत्यु, ५८५ घाइते

इण्डोनेसियामा ज्वालामुखी विस्फोटपछि आएको सुनामीमा परी ४३ मृत्यु, ५८५ घाइते

एजेन्सी । इण्डोनेसियाको सुन्दा स्ट्रेटस्थित समुद्री तटमा ज्वालामुखी विस्फोटपछि आएको सुनामीका कारण ४३ जनाको ज्यान गएको छ भने ५८५ जना घाइते भएका छन् । इन्डोनेसीयाको विपद् व्यवस्थापन निकायका अनुसार सुनामीका कारण दर्जनौँ भवन भत्किएका छन् ।

 

क्राकाटोआ ज्वालामुखी विस्फोटले समुद्र मुनि पहिरो निम्त्याएको कारण सुनामी आएको हुन सक्ने उनीहरूले अनुमान गरेका छन्। पान्डेगलांग, दक्षिण लामपुङ र सेराङ क्षेत्रमा अत्यधिक क्षति भएको बुभिएको छ । अधिकारीका अनुसार मृतकको संख्यामा वृद्धि हुनसक्छ ।

 

सुन्डा स्ट्रेट, जावा र सुमात्रा द्वीपबीच अवस्थित छ जसले जावा सागरलाई हिन्द महासागरसँग जोड्छ । विपद् व्यवस्थापन निकायका अनुसार शनिबार पूर्णिमा भएकाले पनि समुन्द्रको छाल निकै माथिसम्म उठेको हुनसक्छ ।

 

उसअघि सेप्टेम्बर महिनामा पनि त्यहाँको मध्य टापु सुलावेसीमा शक्तिशाली भूकम्प आएपछि सुनामी पनि आएको थियो । सो सुनामीले तटीय नगर पालुलाई पूरै प्रभावित पारेको थियो। सो विपदमा परी २ हजारले ज्यान गुमाएका थिए।

 

इण्डोनेसिया रिङ् अफ फायर भनिने पूरै प्रशान्त महासागरको तटीय इलाकाहरूमा पर्दछ, जहाँ एकदमै धेरै भूकम्प र ज्वालामुखी विस्फोटका घटना भइरहन्छन्।

 

इण्डोनेसियाको भूगर्भसम्बन्धी निकायका अनुसार शुक्रवार उक्त ज्वालामुखी दुई मिनेट १२ सेकेण्डसम्म विस्फोट भएको थियो। त्यसबाट उत्पन्न खरानीयुक्त धुवाँको मुस्लो पहाडको ४ सय मिटर माथिसम्म पुगेको बिबिसीले जनाएको छ ।

इन्डोनेसिया

विशेष