News

मेलम्चीको बाँकि काम सिएमसीले नै गर्ने सहमति

मेलम्चीको बाँकि काम सिएमसीले नै गर्ने सहमति

काठमाडौं । एक साताअघि एकतर्फी रूपमा ठेक्का तोडेर बाहिरिन खोजेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने ठेकेदार कम्पनी सिएमसीले सरकारलाई पत्र लेखेर काममा फर्किने प्रतिबद्धता जनाएको छ।

 

सिएमसीले गत शुक्रबार मेलम्ची खानेपानी बोर्डलाई पत्र लेख्दै यसअघि बुझाएको ‘लेटर अफ टर्मिनेसन’ (ठेक्का तोडिएको पत्र) फिर्ता लिएर काममा फर्किने प्रतिबद्धता जनाएको खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले बताए।


‘ठेकेदार कम्पनीले नयाँ वर्ष मनाएर फर्किएसँगै काममा फर्किने प्रतिबद्धतासहितको पत्र पठाएको छ,’ उनले भने, ‘पटकपटक वार्ता गरेरै सहमतिको वातावरण सिर्जना गरेका हौं। अब मेलम्चीको कामले निरन्तरता पाउने आशा छ।’

 

सचिव ठाकुरका अनुसार मन्त्रालय र ठेकेदार कम्पनीबीचको विभिन्न चरणको वार्ताकै कारण स्थिति सकारात्मक बनेको हो। उनका अनुसार अंग्रेजी नयाँ वर्ष मनाएर ठेकेदार काममा फर्कनेछ।

 

ठेकेदारको गतिविधिका कारण अन्तिम चरणमा पुगेको मेलम्ची आयोजनाबाट उपत्यकामा पानी कहिले भित्रिने भन्ने अन्योल छाएको थियो। ठेकेदार कम्पनीसँग विवाद बढेपछि खानेपानी मन्त्रालयले सिएमसीको बैंक धरौटी जफत गर्न नेपाल इन्भेस्टमेन्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई पत्राचार गरेको थियो।

 

निरन्तरको वार्ताका कारण पछिल्लो समय ठेकेदार कम्पनी र मन्त्रालयबीचको विवाद अलि मत्थर भएको सचिव ठाकुरको भनाइ छ।

 

विवाद निरूपण बोर्ड (डिएबी) ले गरेको निर्णयअनुसार ३६ करोड रुपैयाँ क्षतिपूर्ति नपाएको भन्दै पुस २ गते सिएमसीले खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिलाई लेटर अफ टर्मिनेसन बुझाएको थियो।

 

ठेकेदार कम्पनी भाग्न खोजेको भन्दै सोही दिन खानेपानी मन्त्रालय र बोर्डले कम्पनीको साइट कार्यालय प्रमुख क्रिस्टियानो क्रोजोसहित आठ कर्मचारीलाई नियन्त्रणमा लिई राहदानी बरामद गरेपछि विवाद उत्कर्षमा पुगेको थियो। यो समाचार नागरिक दैनिकबाट लिइएको हो । 

मेलम्ची खानेपानी आयोजना

विशेष