विदेश

पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरीफलाई सात वर्ष जेल सजाय

पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरीफलाई सात वर्ष जेल सजाय

एजेन्सी । पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज शरीफलाई अदालतले सोमबार सात बर्षको जेल सजायको फैसला सुनाएको छ । भ्रष्टाचारसम्वन्धी मुद्दाका कारण यसअघिदेखि नै थुनामा रहनुभएका शरीफलाई अदालतले आज अन्तिम फैसला गर्दै जेल सजाय तोकेको हो । 

 

फैसला पूर्व प्रधानमन्त्री शरीफको परिवारद्वारा मध्यपूर्वमा चलाएका व्यवसायबारे पानामा पेपर्समा आएका सूचनाहरूमाथिको अनुसन्धानपछि आएका बताइएको छ । पाकिस्तानमा तीन पटक प्रधानमन्त्री बन्नुभएका शरिफले भने आफुमाथि लागेका भ्रष्टाचारसम्वन्धी सवै आरोपहरूको खण्डन गरेका छन् । उनले पाकिस्तानमा प्राय हावी हुने शक्तिशाली सुरक्षा निकायले पूर्वाग्रहपूर्वक आफुमाथि भ्रष्टाचारको मुद्दा लगाएको र यसको प्रभाव अदालतहरूमा समेत परेको आरोप लगाउँदै आएका छन् । 

 

सोमबारको फैसलामा राज्य शक्ति र श्रोतको दुरुपयोग गरेर मध्यपूर्वमा पारिवारको तर्फबाट व्यापार गरेको र त्यसमा अनियमितता भएको भेटिएको उल्लेख छ । पाकिस्तानी राज्यद्वारा सञ्चालित टेलिभिजनले उनलाई अदालतले १५ लाख पाकिस्तानी रूपैयाँ जरिवानासमेत तोकेको समाचार प्रसारण गरेको छ । थुनामा रहेका शरीफलाई अब लाहोरस्थित जेलमा लगिने अधिकारीहरुले जनाएका छन् । फैसला सुनाइएपछि अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । 

 

फैसलापछि शरीफ र उहाँको पार्टीका समर्थकहरुले अदालतविरुद्ध आक्रोस व्यक्त गरेका थिए भने उनीहरुलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो । शरिफको पार्टी पिएमएल—एनका नेता शहिद खाक्वान अब्बासीले अदालतको फैसलाका विरुद्धमा पुनरावेदन दिने बताए । 'पाकिस्तानी जनता र इतिहास अदालतको यो निर्णय स्विकार्न तयार छैनन्,' अब्बासीले इस्लामावादमा पत्रकारहरुसँग भने । 

 

अदालतले शरीफलाई आजिवन राजनीतिमा अयोग्य पनि घोषणा गरेको छ । भ्रष्टाचारसम्वन्धी अनुसन्धान गर्ने निकायहरूले शरीफका अन्य फरक फरक तीन मुद्दामा पनि अनुसन्धान गरिरहेका छन् । पाकिस्तानमा गत जुलाईमा भएको आम निर्वाचनका लागि लन्डनबाट पाकिस्तान फर्केका शरीफसहित उनकी छोरी पक्राउ परेका थिए । 

नवाज सरिफ

विशेष