विदेश

ट्रम्प र विपक्षीबीच चर्कियो वाकयुद्ध : विपक्षीले भन्यो, 'ट्रम्पले डुबाउन आँटे'

ट्रम्प र विपक्षीबीच चर्कियो वाकयुद्ध : विपक्षीले भन्यो, 'ट्रम्पले डुबाउन आँटे'

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा विपक्षी डेमोक्र्याटिक पार्टीका नेताहरूबीच पछिल्लो समय तीव्र वाकयुद्ध चलेको छ । ट्रम्प र विपक्षीबीच सिरियाबाट अमेरिकी फौज फिर्ता लाने विषय तथा वित्त बजारमा उत्पन्न समस्यालाई लिएर वाकयुद्ध सुरु भएको हो ।

 

दुई पक्षबीचको विवादका कारण अहिले अमेरिकामा सङ्घीय खर्चमा आंशिक रोक लागिरहेको छ। तल्लो सदन प्रतिनिधिसभाको सभामुख हुन लागेको ठानिएकी न्यान्सी पेलोसी अनि सिनेटका माइनोरिटी नेता चक सुमरसहित डेमोक्र्याट दलका उच्च नेताहरूले राष्ट्रपति ट्रम्पमाथि देशलाई अस्तव्यस्ततामा डुबाउन लागेको आरोप लगाएका छन्।

 

स्टक बजार तीव्र दरमा गिरेको तथा राष्ट्रपतिले केन्द्रीय बैंक फेडरल रिजर्भविरुद्ध धावा बोलेको उनीहरूले आरोप लगाएका छन् । ट्रम्पले केन्द्रीय बैंकका प्रमुख जेरोमी पावेललाई हटाउन खोजेका जस्ता खबरका माझ बजारमा तीव्र गिरावट देखिएको छ ।

 

सोमवार डाव जोन्सको औद्योगिक औसत सूचकाङ्क थप ६५० अङ्कले तल झर्‍यो । यो गिरावटको प्रवृत्ति सन् १९३१ को ग्रेट डिप्रेशन ताकाको भन्दा पनि खराब डिसेम्बरको किर्तिमान बनाउने दिशामा गएको देखिन्छ । आंशिक सरकारी खर्चबन्द, अमेरिका-चीन व्यापार तनाव तथा ट्रम्पले केन्द्रीय बैंकका प्रमुख पावेललाई हटाउन खोजेका जस्ता खबरका माझ बजारमा तीव्र गिरावट देखिएका हुन्।

 

राष्ट्रपति ट्रम्पले भने केन्द्रीय बैकलाई बजारबारे जानकारी नभएको र आवश्यक व्यापारिक युद्ध नबुझेको आरोप लगाए। एउटा ट्वीटमा उनले अमेरिकी अर्थतन्त्रको एकमात्र समस्या केन्द्रीय बैंक भएको बताएको बिबिसीले जनाएको छ ।

डोनाल्ड ट्रम्प

विशेष