चिसोमा कठाग्रिँदै स्कुलमा बित्यो अग्निपीडितको रात
कालिकोट । पलाँता गाउँपालिका–१ खाडाको न्यौपानेवाडाका आगलागीपीडितको पहिलो रात कठाग्रिँदै स्कुलमा बितेको छ । सोमबार बिहान भएको आगलागीमा ८७ घर जलेर नष्ट भएका खाँडागाउँ न्यौपानेवाडाका स्थानीयले नजिकैको गणेश आधारभूत विद्यालयमा रात बिताएका हुन् ।
वडाध्यक्ष मानबहादुर भण्डारीले पीडितहरूलाई नजिकैको स्कुल र नजलेका घरमा रात बिताएको बताए । ‘न्यानो कपडा केही पनि थिएन । पीडितहरूले विद्यालय र नजलेका घरगोठमा चिसो रात बिताएका छन्,’ उनले भने, ‘उनीहरूलाई अबका दिन र रात कसरी बिताउने भन्ने चिन्ता छ ।’
अग्निपीडितलाई सोमबार बेलुका र मंगलबार बिहान गणेश आधारभूत विद्यालयको प्रांगणमा सामूहिक रूपमा खाना बनाएर खुवाइएको छ । नजिकै घोडेना कुवाको खानेपानी ल्याएर नेपाली सेना, नेपाल प्रहरी र स्थानीय कार्यदलले सामूहिक रूपमा खाना बनाएर खुवाएको वडाध्यक्ष भण्डारीले बताए । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
आगलागी