News

जहाँ नाफा कमाउनकै एम्बुलेन्सको बेचबिखन हुन्छ

जहाँ नाफा कमाउनकै एम्बुलेन्सको बेचबिखन हुन्छ

जनकपुरधाम । जनकपुर अञ्चल अस्पतालको छेउमै छ बाह्रबिघा मैदान । त्यहीँ दर्जनभन्दा बढी एम्बुलेन्स बिरामी कुरेर बसिरहेका छन् । ज१च १११६ नम्बरको एम्बुलेन्स त्यहीँ भेटियो । विदेह नगरपालिका दुहबीको मिथिला स्वास्थ्य सहकारी संस्थाद्वारा सञ्चालित रहेछ यो । 

 

दुहबीको एम्बुलेन्स जनकपुरमा कसरी चल्यो? हामीले चालक मणिशंकर साहसँग सोध्यौँ। ‘संस्थाबाटै मैले सम्झौतामा लिएको हुँ,’ उनले भने, ‘एकपटक दुर्घटना भएपछि संस्थाले चलाउन सकेन। अनि सञ्चालकहरू सञ्जीव झा र राजीव झाले मलाई ठेक्कामा दिएका हुन्।’ गाउँको बाटो राम्रो नभएकोले आफूले जनकपुरमै चलाउँदै आएको उनले बताए।

 

संस्थाका संरक्षक राजीव झाले त्यो एम्बुलेन्स कामै नलाग्ने भएपछि संस्थामार्फत मणिशंकरलाई चलाउन दिएको दाबी गरे। जनकपुरको केयर मेडिकलको ज१च ३३४ र ज१च ३७३ नम्बरको एम्बुलेन्स पनि मणिशंकरले नै सञ्चालन गर्छन्। यी दुवै एम्बुलेन्स केयर मेडिकलले बेचिसकेको मणिशंकरले बताए। ‘पहिले नागेश्वर साहले लिएको थियो। उसले वैद्यनामथ साहलाई बेच्यो। वैद्यनाथबाट मैले लिएर चलाउँदै छु,’ उनले भने।

 

यदुकुवा, धनुषाधाम, औरही, महेन्द्रनगरजस्ता गाउँमा दर्ता भएका एम्बुलेन्स जनकपुरमा चलिरहेका छन्। यो जिल्लाका मात्रै होइन, मेची, बागमती, सगरमाथाका एम्बुलेन्स पनि यहीँ छन्। नारायणी अञ्चलको ज्योति नेपाल नामको संस्थाबाट सञ्चालित ना२च ८९३१, सगरमाथाको कमलामाई पोलिक्लिनिकबाट सञ्चालित स१च ६५७, मेचिको रामदयाल संस्थाको मे१च २०८० र मेचीकै गोठ गाउँको देव पोलिक्लिनिकबाट सञ्चालित मे१च ३५० नम्बरको एम्बुलेन्स यहाँ छ।

 

ललितपुर उपमहानगरपालिका जावलाखेलको बा२च ८७६६, नारायणी अञ्चलको समाज विकास संस्थान नेपालको ना२च ६७२, पहरी समाज चन्द्रनिगाहपुरको ना२च ८८५५ नम्बरको एम्बुलेन्स पनि जनकपुरमै सञ्चालित छन्। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो ।

एम्बुलेन्स

विशेष