राष्ट्रपतिबारे बोल्नै हुँदैन, गणतन्त्रविरोधीको ट्याग लाग्छ, तर यो के गरेको ?
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग जोडिएका कुनै पनि खबरहरुमा अलिकति पनि आलोचनाको विषय समावेश भयो भने गणतन्त्रविरोधीको ट्याग लागिहाल्छ । मगन्ते देशका राष्ट्रपतिले १८ करोडको गाडी चढ्नु शोभनीय होइन भन्ने आवाज उठ्यो, तर सरकारका प्रवक्ता गोकुल बास्कोटाले भने ‘के राष्ट्रपतिले साइकल चढ्नु पर्ने ?’
राष्ट्रपति, राष्ट्रपति कार्यालयले राष्ट्रपति भनेको राजाकै निरन्तरता हो भन्ने झल्को दिने गरी काम गरिरहेको देखिन्छ । हुन पनि राष्ट्रपति भण्डारी गरिबका झुपडीभन्दा पूर्वराजा ज्ञानेन्द्र शाहसँग हिमचिम बढाउन लालायित देखिएको भनेर टिप्पणी भयो । उनका छोरीको चप्पल नेपाली सेनाले बोक्नु परेको विषय पनि बाहिर आयो । अहिले त पञ्चायतकालको जस्तो राजतन्त्रीय शैली ट्वीटका विषयमा पनि राष्ट्रपति कार्यालयले अपनाएको पाइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले कालिकोटमा पुस ८ गते आगलागी हुँदा ८८ घरधुरी जलेर नष्ट भएको, सयौं विस्थापित भएको, दर्जनौं घाइते भएको र ठूलो परिमाणमा अन्नपात नष्ट भएको विषयमा ट्वीट गरिन् । राष्ट्रपति कार्यालयका फुर्सदिला सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले ट्वीट गरेको विषयलाई समेत विज्ञप्ति बनाएर सार्वजनिक गरे ।
प्रश्न उठ्छ, ट्वीटलाई पनि विज्ञप्तिमार्फत सार्वजनिक गर्नु पर्छ ? राष्ट्रपति कार्यालयले आफ्नो काम देखाउने कला निकै जानेको भनेर व्यंग्य भइरहेको छ । ट्वीट गरेको भनेर विज्ञप्ति आयो, फेरि ट्वीटको कुरा विज्ञप्तिमार्फत सार्वजनिक भएको भनेर अर्को सूचना पनि जारी हुने हो कि ?
राष्ट्रपति कार्यालयले आफ्नो काम देखाउन गरेको यस्तो कर्मले राष्ट्रपति कार्यालय नै मजाकको विषय बन्ने सम्भावना पनि हुन्छ ।