कुख्यात बादशाह कमरेड बन्दै !
काठमाडौं । सात हत्या, २ अपहरण तथा दजनौं डाँका मुद्दामा फरार दोषीलाई सरकार आफैंले दाहिने बनाएर राखेको प्रसंगले कपिलवस्तु तताएको छ ।
विषय हो पुष ३ को । मायादेवी २ अभिराव बस्तीमा आयोजित थियो मुस्लिम कवि सम्मेलन र मुसायरा कार्यक्रम ।
प्रमुख अतिथि थिए कृषिमन्त्री चक्रपाणी खनाल ‘बलदेव’ र सुरक्षा व्यवस्थामा सिडिओ अर्जुन पोखरेल ।
विशिष्ट व्यक्ति उपस्थित कार्यक्रममा सहभागीहरु तब चकित बने जब बोलाइयो नसिम खाँ ‘बादसाह’ लाई ।
उनीमाथि बैशाख १३ गते सोही स्थानका वडाअध्यक्ष फत्ते मोहम्मदका ४ वर्षीय छोराको अपहरण र हत्या गरेको किटानी जाहेरी जिल्ला प्रहरीमा दर्ता छ ।
त्यो मात्र होइन, शान्तिकालपछि ५ जना माओवादी कार्यक्रर्ताको दिनदहाडै गोली हानी हत्या गर्ने मुख्य अभियुक्त हुन् नसिम खाँ ।
संकाटलमा प्रतिकार समितिको नाइके बनेर माओवादी कार्यक्रताको घरमा आगजनी, लुटपाट, हत्यासमेत गर्न भ्याएका उनी अहिले तत्कालीन जनमुक्ति सेनाका डेपुटी कमाण्डर बलदेवको घनिष्ट बनेका छन् ।
तत्कालीन एमालेले राजनीतिक संरक्षण दिँदै आएको कारण एकतासँगै अपराधीलाई पनि सकार्न पुगेका हुन् बलदेवले ।
तराई जनतान्त्रिक मुक्तिमोर्चाको पश्चिम सैन्य कमाण्डर बनेर आतंक मच्चाई मारतमा सेल्टर लिँदै आएका उनलाई एमालेले त्यही गएर सदस्यता दिएको बताइन्छ ।
सिडिओ अर्जुन पोखरेल सरकारसँग वार्तारत जनतान्त्रिक कौटिल्य समूहको सदस्य भएकाले गृहकै आदेशमा नसिमलाई पक्राउ नगरेको बताउँछन् ।
कौटिल्य समूहको वार्ता समिति संयोजक भन्दै सरकारले संरक्षण गरे पनि उनलाई ०५९ सालमै कम्युनिष्ट पार्टीको सदस्यता लिइएको थियो । त्यस मानेमा कौटिल्य समूह पार्टीको भ्रातृ संगठन हुनुपर्ने हो ।
रमाइलो त के छ भने तत्कालीन एमाले उपाध्यक्ष बाबुराम खनालले नसिमकी श्रीमती फौजियालाई समानुपातिकमा प्रदेश सभासद् बनाई पतिलाई वार्ता समिति भन्दै नेपाल आउने बाटोसमते खुला गराएका छन् ।
जसबापत उनलाई मोटो नजराना प्राप्त भएको आरोप थियो । त्यसै कारण उनले नेकपाको प्रदेश सदस्य बन्न पाएनन् ।
२०६२ सालअघि देखि नसिम खाँ हत्या र डकैतीका २ वटा घटनामा फरार छन् जुनबेला जनतान्त्रिक समूह नै जन्मिएको थिएन ।
एमाले सदस्यता लिएको मितिदेखि यता उनको नाममा एक हत्या र दुई अपहरणको आरोप छ ।
मन्त्री र सिडिओ आफैं अपराधीको संरक्षणमा लागेको भन्दै वैशाख १३ मा मारिएका पिता फत्ते मोहम्मद गुनासो पोख्छन् ।
सरकार आफैं अपराधी संरक्षणमा लागेको भन्दै छिमेकी जिल्लामा समेत चर्को आलोचना भइरहेको छ ।
नसिम र उनको समूहले ०६४ सालयता माओवादी नेता राजेन्द्र तिवारी, अकाली धोबी, प्रेम परियार ‘भवन’, ज्ञानहरि कार्की, शिवपुजन कुर्मीको हत्या गरेको थियो ।
तत्कालीन गाविस सचिव रामिलन गुप्ता र वैशाख १३ मा पाँच वर्षीय बालक अयमानको हत्या मुद्दामा समेत उनी फरार छन् । यो समाचार जन आस्था साप्ताहिकबाट लिइएको हो ।
नसिम खाँ