News अर्थ समाज

सामाजिक सुरक्षा योजनाको प्रमुुख चुनौती अनौपचारिक श्रमिक 

सामाजिक सुरक्षा योजनाको प्रमुुख चुनौती अनौपचारिक श्रमिक 

काठमाडौं । श्रमिकहरुको सामाजिक सुरक्षा सुनिश्चितताका लागि हालैमात्र नेपाल सरकारले ल्याएको सामाजिक सुरक्षा योजना कार्यक्रम प्रभावकारीतामा चुनौती रहेको सरोकारवालाहरुले बताएका छन् । आज ललितपुरको सानेपामा आयोजित ‘नेशनल वर्कशप अन पोलिसी टु एक्सन इन्स्योरिङ सोसल एण्ड इकोनोमिकस सेकुरिटी अफ इन्फर्मल सेक्टर वर्कस्’ विषयक कार्यक्रममा बोल्दै घरेलु र साना उद्योग तथा श्रम क्षेत्रका विज्ञहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । 

 

होमनेट नेपाल(एचएनएन), नेपाल घरेलु तथा साना उद्योग महासंघ(एफएनसिएसआई) र नेपाल महिला एकता समाज(एनएमईएस)को संयुक्त आयोजनामा संपन्न उक्त कार्यक्रममा बोल्दै श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले संवृद्ध नेपाल निर्माणका लागि सामाजिक सुरक्षा कार्यक्रमको कार्यन्वयन अनिवाश्य रहेको बताएका छन् ।

 

प्रमुख अतिथीको रुपमा बोल्दै विष्टले नेपाल जस्तो विकास उन्मुख मुलुकका लागि देश बिकासको प्रमुख आधार नै देशभित्र रहेका साना ठूला कलकारखाना तथा उद्योगहरु र त्यसमा श्रम गर्ने श्रमिकहरु रहेको बताए । ‘श्रमिकहरुको सामाजिक सुरक्षाको ग्यारेन्टि गर्ने दाईत्व सरकारको हो र त्यसको थालनी हामीले गरेका छौं । अब कोहि पनि श्रमिकले भोलिको दिनमा सामाजिक सुरक्षाको चिन्ता गरिराख्नु पर्दैन ।

 

तपाईहरुको सुरक्षाको जिम्मा नेपाल सरकारले लिन्छ ।’ उनले भने, ‘भलै सामाजिक सुरक्षा योजना औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुका लागि मात्र कार्यन्वयनमा आए पनि भोलिका दिनमा अनौपचारिक क्षेत्रमा रहेर काम गर्ने श्रमिकहरुको पहुँचमा समेत पु¥याउने सरकारको लक्ष्य छ ।’ 

 

आफू श्रम मन्त्री भएपछि वैदेशिक रोजगारीमा समेत सुधार गरेको उनले बताएका छन् । रोजगार दाता कतिपय मुलुकहरुसँग श्रम सम्झौता भएका र केहि मुलुकहरुसँग हुने क्रममा रहेको समेत विष्टले जानकारी दिएका छन् । 

 

कार्यक्रममा बोल्दै श्रम तथा रोजगार मन्त्रालयका अधिकृत लोक नाथ भुशालले सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यन्वयनको प्रमुख चुनौतीनै अनौपचारिक क्षेत्र रहेको बताए । कुन क्षेत्रमा कति श्रमिक छन्, के काम गर्ने, कति गर्ने भन्ने नै निक्र्योल नहुने हुदाँ यस्ता क्षेत्रमा काम गर्ने श्रमिकहरुको सामाजिक सुरक्षा भरण गर्न कठिन हुने उनले जिकिर गरे । उनले भने, ‘हाम्रोमा मात्र होईन हामी भन्दा धेरै पहिला सामाजिक सुरक्षा योजना लागु गरिएका देशहरुमा समेत अनौपचारिक क्षेत्रमा यसको प्रभावकारिता देखिदैन ।’

 

विश्व बैंकको अनुसन्धान डाटालाई उद्धित गर्दै उनले नेपालमा करिब ९८ प्रतिशत अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरु रहेको र यसलाई सामाजिक सुरक्षा योजनामा ल्याउन समय लाग्ने बताए । तर नेपाल जस्तै गरिबी मुलुक इथियोथोपियामा भने ३३ प्रतिशत मात्र अनौपचारिक क्षेत्रका श्रमिकहरु रहेको बताउदै नेपालले त्यसको समिक्षा गर्नु पर्ने बताए । 

 

कार्यक्रममा सम्बोधन गर्दै होमनेट नेपालका अध्यक्ष चन्द्रमाया महर्जनले सामाजिक सुरक्षा योजना औपचारिक क्षेत्रमा भन्दा पनि अझ अनौपचारिक क्षेत्रका श्रमिकहरुमा बढ्ता आवश्यक रहेको बताइन् । उनले यस्ता क्षेत्रमा काम गर्ने श्रमिकहरुको सुरक्षार्थ सरकारले उचित ध्यान दिनु पर्नेमा जोड दिइन् । होमनेट नेपालले यस्तै यस्तै क्षेत्रमा रहेर काम गरिरहेको र यस योजनामा सरकारलाई सहयोग गर्न समेत आफुहरु तयार रहेको उनले बताएकी छिन् । 

 

कार्यक्रमा नेपाल सरकारले मंसिर ११ गतेदेखि कार्यन्वयनमा ल्याएको सामाजिक सुरक्षा योजना कार्यक्रमका बारेमा कार्यशाला गोष्ठि चलाईएको थियो भने, नेपालको संविधान २०७२ ले निर्देशित गरेको समाजिक सुरक्षा योजना र ऐन नियम तथा नियावलिका बारेमा छलफल गरिएको थियो । नेपाल सरकारले यसै वर्षदेखि मंसिर ११ लाई सामाजिक सुरक्षा दिवसको रुपमा बनाउने समेत निर्णय गरेको छ ।    
 

सामाजिक सुरक्षा योजना

विशेष