News मुख्य समाचार

मेलम्चीका सबै प्राविधिकले नेपाल छाडे

मेलम्चीका सबै प्राविधिकले नेपाल छाडे

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा संलग्न इटालियन कम्पनी कोअपरेटिभ मुरातोरी ई–सेमेन्टेस्टी (सिएमसी दी रेभेन्ना) मा कार्यरत सबै प्राविधिक स्वदेश फर्किएका छन् । 

 

अध्यागमन विभागका अनुसार ६ जना सोमबार र २१ जना त्यसअघि नै फर्किएका हुन् । खानेपानी तथा सरसफाइ मन्त्रालयले ६ पुसमा अध्यागमनलाई पत्राचार गर्दै कम्पनीका कर्मचारीलाई स्वदेश फिर्तामा रोक नलगाउन निर्देशन दिएको थियो । त्यसअघि १ पुसमा भने स्वदेश फिर्तीमा रोक लगाउन पत्राचार गरिएको थियो ।

 

मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले ठेकेदार कम्पनीका सबैले नेपाल छाडेको बताए । उनले भने, ‘सुरुङ निर्माणमा आबद्ध ठेकेदार कम्पनीका सबैले नेपाल छाडेका छन् । क्रिसमस मनाउन भन्दै उनीहरू जान खोजे । छाडेको काममा पछि फर्किन्छौँ भने । त्यसपछि कसैलाई रोक नलगाउन आदेश दिइएको हो ।’ 

 

मन्त्रालयको आदेशपछि प्रहरीले १ पुसको मध्यरातमा ठेकेदार कम्पनीका म्यानेजर इटालियन नागरिक ग्रेसो क्रिस्टियनसहित आठजनालाई पक्राउ गरेको थियो । त्यसमध्ये ६ जनाको पासपोर्ट जफत गरिएको थियो । अन्यलाई भने उच्च निगरानीमा राखिएको थियो । तर, मन्त्रालयले स्वदेश फिर्तीमा रोक नलगाउन विभागलाई पत्राचार गरेपछि उनीहरूले नेपाल छाड्न थालेका थिए । यो खबर आजको नयाँ पत्रिकाबाट लिइएको हो ।

मेलम्ची खानपानी

विशेष