काङ्ग्रेसले मेलमिलाप दिवस मनाउने
काठमाडौँ । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली काङ्ग्रेसले देशभर आमसभा, गोष्ठी, र्याली, कोणसभालगायत कार्यक्रम गर्ने भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले हालै सम्पन्न महासमिति बैठकमा मेलमिलाप दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरी सङ्गठनलाई चुस्त, गतिशील र प्रभावकारी बनाउन आह्वान गरेका थिए । काङ्ग्रेसले महासमिति बैठकबाट पारित विधानअनुसार पार्टी सङ्गठनलाई विस्तार र सुदृढीकरण गर्न यसै दिवसदेखि विभिन्न अभियानको थालनी गर्ने समेत तयारी गरेको छ ।
विसं २०३३ साल पुस १६ गते काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका साथ लौहपुरुष गणेशमान सिंह र अन्य शीर्षनेताहरुसहित आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनुभएको दिनलाई काङ्ग्रेसले हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ । दिवसलाई प्रभावकारी बनाउन काङ्ग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्यलाई प्रतिनिधिका रुपमा खटाएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
नेपाली काङ्ग्रेस