News

निर्मला हत्या प्रकरणः थुनामुक्त प्रदीपले भने, ‘धम्काएपछि झुटो कहानी बताएँ’  

निर्मला हत्या प्रकरणः थुनामुक्त प्रदीपले भने, ‘धम्काएपछि झुटो कहानी बताएँ’  

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या आरोपी प्रदीप रावलले थुनामा रहँदा आफूलाई यातना दिएको बताएका छन् ।

 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको थुनामा बयान लिने क्रममा पाइपले नांगो पैतालामा हानेको आरोप उनले लगाएका छन् ।

 

फलामले पाइप तिघ्रामा तेर्स्याइ त्यसको दुवैतिर टेकेर यातना दिएको उनले बताए । पक्राउ परेपछि एक दिन कठोर यातना र पछि मानसिक दबाब दिएको उनको भनाई छ ।

 

मंसिर १७ गते सुन्धाराबाट पक्राउ परेका रावलको डिएनए निर्मलाको भेजाईनल स्वाबबाट निकालिएको पुरुष डिएनएको स्याम्पलसँग नमिलेको प्रमाणित भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशपछि बुधवार उनी छुटेका छन् ।

 

सुन्धाराको एक मःम पसलमा काम गर्ने उनलाई पक्राउ गरेपछि दिनभर केन्द्रीय अनुसन्धान ब्युरोमा राख्ने र साँझ महानगरीय प्रहरी वृत्त महाराजगंजमा थुनामा राख्ने गरिएको थियो ।

 

थुनामा क्रममा अपराध कबुल गर्न बाध्य पारेपछि आफूले बलात्कार र हत्या गरेको भन्ने बयान दिएको रावलले बताए । उनले भने, ‘साँचो–साँचो बोल, नत्र नराम्रो होला भनेर धम्काएपछि र धेरै दबाब दिएपछि मैले झुटो कहानी बताए ।’

माइतीघर लगेर यही हो निर्मलाको बलात्कारी भन्दै चिनाउने धम्की पनि ब्युरोका प्रहरीले दिएको उनको आरोप छ।

 

दौडन लगाएर पछाडिबाट गोली हान्ने धम्कीदेखि हिटरमा पिसाब फेर्न लगाउनेसम्मको त्रास आफूलाई देखाएको उनले बताए । प्रहरीले साइबर क्राईमको मुद्दा लगाउने धम्कीसमेत दिएका थिए ।

 

रावल पक्राउ परेलगत्तै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमेत ब्युरो पुगेर रावलको बयान लिएका थिए ।

 

प्रहरी महानिरीक्षकले बयानका क्रममा सत्यतथ्य बताए सजाय छुट पाउन सकिने र आफ्नो अघि ढुंगासमेत बोल्ने भन्दै घटनाबारे बताउन दबाब दिएको पनि उनले बताए ।

 

१० साउनमा कञ्चनपुरको भीमदत्त नगरपालिका १८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।

 

उक्त घटनापछि गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालयले छुट्टाछुट्टै अनुसन्धान टोली बनाए पनि घटनाको रहस्य सतहमा आउन सकेको छैन । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

निर्मला हत्या प्रकरण

विशेष