News समाज देश

म्यानपावरले चर्को शुल्क उठाएको निहुँमा तीन सय बढी कामदार स्वदेश फिर्ता

म्यानपावरले चर्को शुल्क उठाएको निहुँमा तीन सय बढी कामदार स्वदेश फिर्ता

काठमाडौं । म्यानपावरले चर्को शुल्क असुलेको तथ्य फेला परेपछि टर्कीको एक रोजगारदाताले तीन सयभन्दा बढी नेपाली कामदारलाई स्वदेश फर्काइदिएको छ। म्यानपावरले कामदारसँग चर्को शुल्क उठाएको निहुँमा नेपाली कामदारललाई रोजगारदाताले फिर्ता गरेको यो सम्भवतः पहिलो घटना हो।

 

कामदार ल्याउँदा लाग्ने सबै खर्च बेहोरेको टर्कीको अंकारास्थित आइजिए एअरपोर्ट कम्पनीले म्यानपावर र दलालले ठूलो रकम असुल गरेको तथ्य फेला पारेपछि रकम तिर्ने कामदारलाई नै फिर्ता गरेको पीडितले गुनासो गरेका छन्। विभिन्न चरणमा १०–११ महिनाअघि टर्कीको त्यो कम्पनीले युरो नेपाल र एचआर म्यानपावरमार्फत एक हजार तीन सय ५० कामदार लिएको थियो। तीमध्ये तीन सय २० जनालाई फर्काइदिएको र अरु फर्कने क्रममा रहेको उदयपुर, बेलका नगरपालिका–१ का किरण वान्तवाले बताए।

 

‘टर्की जानुअघि सबैले दुईदेखि चार लाख रुपैयाँसम्म म्यानपावर र दलाललाई बुझाएका थियौं,’ रोजगारदाताले फर्काएपछि वैदेशिक रोजगार विभागमा उजुरी दर्ता गर्ने क्रममा वान्तवाले भने, ‘कम्पनीले विभिन्न स्रोतबाट त्यो कुरा थाहा पाएछ। अनि सबैलाई घर फर्काउने निर्णय गर्‍यो।’ उनका अनुसार युरो नेपाल र एचआर म्यानपावरमार्फत टर्की पुगेका सबै कामदार पनि फर्कने क्रममा छन्। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो ।

टर्की

विशेष