News

शिक्षककाे कुटाइबाट विद्यार्थीको मृत्यु

शिक्षककाे कुटाइबाट विद्यार्थीको मृत्यु

बारा । शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको छ । पिट्ने शिक्षक फरार छन् । कलैया उपमहानगरपालिका–१ स्थित नमुना निमाविमा अध्ययनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १३ वर्षीय अजयकुमारको उपचारक्रममा मृत्यु भएको हो ।


 
शिक्षक सोनालाल यादवले एक छात्राको विषयमा उजुरी आएको भन्दै सोमबार अजयलाई कुटेर तेस्रो घण्टी नसकिँदै घर पठाएको उनका सहपाठीले बताएका छन् । विद्यालयबाट उनको घर ३ किमि टाढा छ । घर पुगेको केही घण्टामै जिल्ला अस्पताल कलैया पुर्‍याइएका उनको उपचारक्रममा मृत्यु भएको मेडिकल सुपरिन्टेन्डेड त्रिभुवनचन्द्र झाले बताए ।

 

प्राथमिक तहका शिक्षक यादवले अजयलाई विद्यालय प्रांगणमा हात र बाँसको लठ्ठीले पैतालादेखि घाँटीसम्म कुटेको प्रत्यक्षदर्शी अजयकी साथी रीमा मण्डलले बताइन् । मृत्युपछि प्रहरीमा जाहेरी दिएको अजयका काका जितेन्द्रले बताए । शिक्षक यादव भने फरार छन् ।

 

शिक्षकविरुद्ध ज्यान कसुरमा पीडितबाट उजुरी लिएर विस्तृत अनुसन्धान थालिएको प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए । ‘शवको पोस्टमार्टम रिपोर्टका आधारमा कारबाही हुन्छ, भिसेरा जाँचका लागि पठाइएको छ’, उनले भने । रिपोर्ट आइसकेको छैन । मृत्युको कारण अहिल्यै भन्न नसकिने उनले बताए । ‘बाहिरी चोटपटक देखिएको छैन, सूक्ष्म अनुसन्धान भइरहेको छ,’ उनले भने ।

 

साथी रीमाका अनुसार शिक्षकको पिटाइपछि अजय रुँदै विद्यालयबाट निस्केका थिए । घाँस काट्न गएकी आमा कोशिलाले घर फर्कंदा अजयलाई खाटमा बेहोस अवस्थामा भेटेकी थिइन् । ‘छोरालाई बेहोस देखेपछि हतपत अस्पताल लग्यौं, अस्पताल पुगेको केहीबेरमै बाबुको सास गयो,’ कोशिलाले भनिन् । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

बारा

विशेष