News

मौसमविद् भन्छन्, काठमाडौंको तापक्रम शून्यका हाराहारी झर्न सक्छ

मौसमविद् भन्छन्, काठमाडौंको तापक्रम शून्यका हाराहारी झर्न सक्छ

काठमाडौं । अधिकांश हिमाली र उच्च पहाडी भेगको तापक्रम माइनस १० का हाराहारीमा भएको महाशाखाका अधिकारीहरूको अनुमान छ। मौसममा आएको परिवर्तनसँगै केही दिनयता हवाई भिजिविलिटी घटेकाले आन्तरिक उडान पनि प्रभावित बन्न थालेको छ।

 

भारतको जम्मुकास्मिर हुँदै भित्रिएको उत्तरपश्चिमी वायु हिमालय शृंखलालाई छोएर बहँदा मुलुकका अधिकांश भेगको तापक्रम निकै खस्किएको छ। यही कारणले चिसो अझै बढ्ने मौसमविद्हरूको ठहर छ।

 

मंगलबार २ दशमलव ६ डिग्री रहेको काठमाडौं उपत्यकाको तापक्रम बुधबार १ दशमलव ५ डिग्रीमा झरेको छ। मध्य हिउँद अझै बाँकी रहेकाले तापक्रम अझै खस्किने मौसमविद् वरुण पौडेलले बताए। 'अहिलेको मौसमी अवस्थालाई नियाल्दा काठमाडौंको तापक्रम शून्यका हाराहारी झर्न सक्छ, अझै डेढ/दुई साता तापक्रममा खासै सुधार आउँदैन’ –उन भने ।

 

गत वर्ष हिउँदयाम (जनवरी १४ तारिख)मा काठमाडौं उपत्यकाको सबैभन्दा न्यून तापक्रम शून्य दशमलव ४ डिग्री मापन भएको थियो। बुधबार मुलुकका अन्य भेगको तापक्रम पनि निकै घटेको छ। जुम्लाको न्यूनतम तापक्रम माइनस ८, जिरीको माइनस ३ दशमलव ३ र जोमसोमको माइनस ३ दशमलव २ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो खबर आजको नेपाल समाचारपत्रबाट लिइएको हो ।

मौसम बदली

विशेष