News

नेपालगञ्ज भन्सारमै रोकियो ६७ लाखको चिनी

नेपालगञ्ज भन्सारमै रोकियो ६७ लाखको चिनी

बाँके । भारतबाट आयात गरिएको एक लाख ४४ हजार किलो चिनी चार महिनादेखि नेपालगञ्ज भन्सारमा थन्किएको छ । सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएकाले उक्त परिणामको चिनी भन्सारमै थन्किएको हो । 

गत भदौ ३१ मा मन्त्रिपरिषद् बैठकले भारतबाट चिनी आयात नगर्ने निर्णय गरेपछि साविकका मध्य र सुदूरपश्चिमका लागि दसैं र तिहारलाई लक्षित गरी रु ६७ लाख २० हजार (भारु ४२ लाख) को चिनी ल्याइएको थियो । 

सरकारले भारतबाट आएको चिनी आयात नगर्ने निर्णय गरेको दुई दिनपछि मात्र व्यापारीले खरीद गरेको चिनी नेपालगञ्ज भन्सारमा आइपुगेकाले भन्सारमै थन्किएको नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत परमानन्द जोशीले जानकारी दिए । 

रोकिएको चिनीबारे माथिल्लो निकायबाट सोधपुछ गरे पनि कुनै निर्देशन नआएको बताउँदै उनले भने, ‘भारतबाट ल्याएको चिनी पुनः फिर्ता लैजान मिल्दैन ।’ सरकारले आयात गर्न निश्चित कोटा निर्धारण गरेको छ तर कति परिमाणमा चिनी नेपालगञ्ज भन्सारबाट आउन दिने भन्ने पत्र भन्सार कार्यालयमा नआएको अधिकृत जोशीले बताए । 

चिनी नेपालगञ्ज भन्सार

विशेष