फ्रान्समा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै आगजनी
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा फ्रान्सको राजधानी पेरिसमा प्रदर्शन भएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधको प्रदर्शन गर्ने क्रममा पेरिसमा प्रदर्शनकारीहरुले तोडफोड तथा आगजनी समेत गरेका छन् ।
प्रदर्शनकारीहरुलाई रोक्ने क्रममा पुलिस र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा परि कम्तीमा एक सय १० घाइते भएका छन् भने दुई सय ६० भन्दा बढीलाई पक्राउ गरिएको फ्रान्सका सञ्चारमाध्यमले उल्लेख गरेको छ । प्रदर्शनकारीलाई भगाउनका लागि प्रहरीले अश्रु ग्यास, स्टन ग्रेनेड र पानीको फोहोरा प्रहार गरेको छ ।
फ्रान्समा पेट्रोलियम पदार्थको मूल्यमा पछिल्लो १२ महिनामा २३ प्रतिशतको बढोत्तरी भएको छ । विश्व स्तरमा तेलको मूल्यमा उतार चढाव भइरहेको छ तर फ्रान्समा भने मूल्य वृद्धि पछि कम भएको छैन ।
राष्ट्रपति इम्यानुएल म्याक्रोंको सरकारले हाइड्रोकार्बन ट्याक्स बढाएका कारण यस्तो भएको बताइन्छ । यस्तै म्याक्रोंले पेरिसमा भइरहेको प्रदर्शनलाई अनुचित बताएका छन् ।
पेरिसमा शनिबार भएको प्रदर्शन जी २० सम्मेलनमा पनि गुञ्जिएको बताएको छ ।
फ्रान्समा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा यसअघि नोभेम्बर १७ मा देशव्यापी प्रदर्शन भएको थियो । त्यतिबेला लगभग तीन लाख मानिस सडकमा उत्रिएका थिए ।