News

प्रदेश २ : आफ्नै घरमा बस्ने सांसद पनि लिन्छन् घरभाडा

प्रदेश २ : आफ्नै घरमा बस्ने सांसद पनि लिन्छन् घरभाडा

जनकपुरधाम । प्रदेश राजधानीमै घर भएर पनि प्रदेशसभा सचिवालयबाट घरभाडा लिइरहेका सांसदहरूले नियमविपरीत निकासा भएको रकम फिर्ता हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव पनि त्यस्तै सांसदमध्येका एक हुन् । 

 

उनी भन्छन्, ‘प्रदेशसभा सचिवालयमा मैले बुझाएको सम्पत्ति विवरणमा स्पष्ट उल्लेख छ कि मेरो घर जनकपुरमा छ । घरभाडावापत पैसा पठाउनुअघि सचिवालयले कहिल्यै सोधेन कि जनकपुरमा बस्न मैले निजी घर प्रयोग गरेको हो कि भाडाको । तलब, भत्ता, स्वकीय सचिवालयको खर्चसँगै घरभाडावापतको रकमसमेत एकमुष्ठ पठाइदिएपछि हामीले थाहै पाउन सकेनौं। यदि नियमविपरीत मलाई सुविधा दिइरहेको छ भने त्यो रोकिनुपर्‍यो ।’

 

संसदीय दलका नेताको हैसियतले उनी घरभाडावापत मासिक १८ हजार रुपैयाँ प्रदेशसभा सचिवालयबाट बुझिरहेका छन् । प्रदेशसभा सचिवालयले विपक्षी दलका नेता र सत्तापक्षका प्रमुख सचेतकलाई घरभाड वापत मासिक २० हजार, विपक्षी दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरूलाई मासिक १८ हजार, दलका प्रमुख सचेतक र सचेतकहरूलाई मासिक १६ हजार तथा अन्य सांसदहरूलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराइरहेको छ ।

 

जुन आफ्नै नाउँमा रहेको आलिशान महलमा बस्ने नेकपा सांसद किशोरी साहले पनि घरभाडा वापत मासिक १५ हजार रुपैयाँ बुझिरहेका छन् । आफ्नै घरमा बसिरहे पनि प्रदेशसभा सचिवालयबाट आफूले घरभाडावापतको रकम पाइरहेको पनि उनलाई थाहा छ । तर, आफ्नै घरमा बसेर पनि घरभाडावापतको रकम बुझ्ने अन्य सांसदले केही नबोलेपछि आफू पनि चुपचाप सुविधा बुझिरहेको उनी बताउँछन् । ‘तर, अब बस्ने प्रदेशसभा बैठकमा यसबारे कुरा उठाउँछु,’ उनले थपे, ‘जनकपुरमै घर हुने सांसदलाई घरभाडावापत सुविधा दिनु गलत हो।’ यो खबर आजको नगरिक दैनिबाट लिइएको हो ।

विशेष