News

पूर्वराजा शाहले भोलि नरबेदेश्वर महादेवको दर्शन गर्ने

पूर्वराजा शाहले भोलि नरबेदेश्वर महादेवको दर्शन गर्ने

काठमाडौं। सपरिवार पोखरामा छुट्टी बिताइरहेका पूर्वराजा ज्ञानेन्द्र शाहले मदौरा कुना, शुक्लगण्डकी किनारमा रहेको नरवेदेश्वर महादेवको दर्शन गर्ने भएका छन् । उनले भोलि (आइतबार)  बिहान ११ बजे नरबेदेश्वर महादेवको दर्शन गर्ने कार्यक्रम तय भएको शिवसेना नेपालले जानकारी दिएको छ ।

 

शिवसेना नेपालले फेसबुकमार्फत् कास्की क्षेत्रका सम्पूर्ण शिवशैनिक शाहको दर्शन कार्यक्रममा उपस्थित हुन आह्वान गरेको छ। त्यस्तै शिवसेनाले सम्पूर्ण राष्ट्र तथा हिन्दू धर्मप्रेमीलाई उपस्थित भई भव्य स्वागत गर्न पनि अनुरोध गरेको छ । उनीले परिवारका सदस्यसहित गत शनिबार विध्यावासिनी मन्दिरको दर्शन गरेका थिए । सपरिवार मन्दिरको दर्शनमा निस्किँदा पोखरा बासीले उनीहरूको भव्य स्वागत गरेका थिए ।

 

पूर्वराजा शाह परिवारसहित निर्मलपोखरीस्थित माउन्टग्लोरी रिसोर्टमा छुट्टी मनाइरहेका छन् । गत पुस २ गतेदेखि उनी पोखरामा छन् । पूर्वराजा ज्ञानेन्द्र, पत्नी कोमल, राजाका निकटस्थ प्रभुशमशेर राणा पुगेको केही दिनपछि बुहारी हिमानी, छोरी प्रेरणा र नातिनातिनहरू पनि पोखरा पुगेका थिए ।

 

यसबीचमा उनले राप्रपा अध्यक्ष कमल थापालगायत केही पूर्वमन्त्री तथा सांसदहरूसँग भेट गरेका छन् । पोखरामा सम्मन्न लिट्रेचर फेस्टिबलका क्रममा उनलाई अभिनेत्री मनिषा कोइरालालगायत केही सञ्चारकर्मीहरूले पनि भेटघाट गरेको बुझिएको छ । त्यस्तै पूर्वराजा शाहसँग फेस्टिबलमा सहभागी भएर फर्किने क्रममा नेकपाका नेता एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको समेत पोखरा विमानस्थलमा आकस्मिक भेट भएको थियो ।

 

पूर्वराजा ज्ञानेन्द्र शाह

विशेष