News अपराध सुरक्षा

फैसला उल्ट्याउँदै तिवारीको हत्या अभियोग लागेका कुशवाहलाई सफाइ

फैसला उल्ट्याउँदै तिवारीको हत्या अभियोग लागेका कुशवाहलाई सफाइ

काठमाडौं । सर्वोच्च अदालतले विश्व हिन्दु युवा संघका तत्कालीन अध्यक्ष काशीप्रसाद तिवारीको हत्यामा संलग्न भई जेल सजाय भोगिरहेका सियारामप्रसाद कुशवाहलाई सफाइ दिँदै थुनामुक्त गर्ने फैसला गरेको छ । न्यायाधीशहरू शारदाप्रसाद घिमिरे र डम्मरबहादुर शाहीको संयुक्त इजलासले शुक्रबार सियारामलाई उच्च अदालतले गरेको फैसला नमिलेको भन्दै कर्तव्य ज्यान सजाय उल्ट्याएर सफाइ दिएको हो ।

 

उच्च अदालत जनकपुरले गत वर्ष फागुन २५ गते गरेको सर्वस्वसहितको जन्मकैद फैसला नमिलेको भन्दै उल्ट्याइएको हो । ‘कुशवाहलाई अभियोग दाबीबाट सफाइ पाउने ठहर गरिएकाले अन्य मुद्दामा थुनामा राख्नुनपर्ने भए आजै थुनामुक्त गरिदिनू,’ सर्वोच्चले शुक्रबार फैसला गर्दै दिएको आदेशमा भनिएको छ ।

 

सियाराम रौतहट कटहरिया नगरपालिकामा तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट मेयरमा विजयी भएका थिए । मेयर बनेसँगै उनीविरुद्ध अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएपछि उनी पक्राउ परेका थिए । २०६८ सालमा विश्व हिन्दू युवा महासंघ अध्यक्ष तिवारीको वीरगन्जमा भएको हत्यामा संलग्न रहेको भन्दै सियाराम, अमनप्रसाद कुसवाह र बलिराम साहविरुद्ध मुद्दा चलेको थियो । यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो ।

सर्वोच्च अदालत

विशेष