News

गर्भवती र सुत्केरी महिलालाई ‘मोबाइल एप्स’ मार्फत प्रसूति सेवा

गर्भवती र सुत्केरी महिलालाई ‘मोबाइल एप्स’ मार्फत प्रसूति सेवा

हेटौडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाभित्र रहेका गर्भवती र सुत्केरी महिलालाई मोबाइल एप्समार्फत प्रसूति सेवा दिन थालिएको छ । कैलाश गाउँपालिकाभित्रका पाँच स्वास्थ्यचौकीमार्फत यस्तो व्यवस्था मिलाइएको हो । उक्त गाउँपालिकाले एप्स निर्माण गरी पाँचवटै स्वास्थ्यचौकीमा एप्ससहितको मोबाइल वितरण पनि गरेको छ ।

 

वितरित मोबाइलमा रहेको एप्समा आफ्नो सेवा क्षेत्रमा रहेका गर्भवती र सुत्केरीबारे जानकारी विवरण स्वास्थ्यचौकीमा कार्यरत प्रसूति सेवा हेर्ने कर्मचारीले अद्यावधिक गर्नेछन् । अद्यावधिक गरिएको विवरणबमोजिम एप्सले समयावधिको आधारमा ‘नोटिफिकेशन’ पठाउने र सोहीबमोजिम स्वास्थ्यकर्मीले गर्भवती र सुत्केरीलाई आवश्यक परामर्श र स्याहारका लागि परामर्श दिने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष टङ्कबहादुर मोक्तानले बताए । 

 

“स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवासुविधालाई प्रविधिसँग जोडेर सहज पार्न खोजेका छौँ”, अध्यक्ष मोक्तानले भने, “हामी बिकट र दुर्गममा पनि प्रविधिको उपयोग गरेर जनतालाई सजिलो पर्ने गरी सेवा दिन लागेका छौँ ।” एप्सको प्रयोगबाट सुत्केरी र गर्भवतीको विवरण अद्यावधिक हुने र उनीहरुको स्याहार गर्न सजिलो हुने उनले जानकारी दिए । 

 ‘मोबाइल एप्स’ 

गाउँपालिकाले चालू आर्थिक वर्षदेखि एउटा स्वास्थ्य केन्द्रमा बालबालिका जन्म गराउने सङ्ख्या ३० भन्दा बढी भएमा प्रतिबालबालिका रु ५०० का दरले कर्मचारीलाई समेत प्रोत्साहन भत्ता दिने जनाएको छ । 

प्रसूति सेवा मोबाइल एप्स गर्भवती महिला

विशेष