News रोजगार

सरकारी सूचना केन्द्रमार्फत् ४ प्रतिशतमात्रले पाउँछन् स्वेदशमा रोजगारी

सरकारी सूचना केन्द्रमार्फत् ४ प्रतिशतमात्रले पाउँछन् स्वेदशमा रोजगारी

काठमाडौं । सरकारले सञ्चालन गरेको रोजगार सूचना केन्द्रमार्फत रोजगारीको खोजी गर्ने युवामध्ये ४ प्रतिशतमात्रले रोजगारी पाउने गरेको देखिएको छ । 

 

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमार्फत सञ्चालन हुने रोजगार सूचना केन्द्रमार्फत सञ्चालित बेरोजगारहरूको तथ्यांक हेर्दा स्वदेशमा ४ प्रतिशतले मात्र रोजगारी पाउने गरेको देखिएको छ । विगत ३ वर्षमा केन्द्रमार्फत ४१ हजार २ सय ४० बेरोजगारको तथ्यांक संकलन भएकोमा १ हजार ६ सय ९० युवालाई रोजगारीका लागि सिफारिस गरिएको देखिन्छ । रोजगार सूचना केन्द्रबाहेक नै निजी तथा सरकारी क्षेत्रमा रोजगारी पाउनेको संख्या धेरै हुने गरेको भए पनि सरकारी निकायमार्फत नै रोजगारी पाउनेको संख्या न्यून देखिएको छ ।

 

सरकारले चालू आर्थिक वर्षदेखि स्वदेशमा नै रोजगारी सिर्जना गर्ने नीति लिएर प्रत्येक स्थानीय तहमा नै रोजगारी सिर्जना गर्ने कार्यक्रम अघि बढाएको छ । सरकारले यो वर्षदेखि प्रत्येक स्थानीय तहमा रोजगार सूचना केन्द्र विस्तार गर्ने योजना अघि बढाइसकेको छ । बिगतमा केन्द्रमार्फत संकलन गरिएको बेरोजगारको संख्या र रोजगारीको सिफारिस हेर्दा सरकारले ल्याएको स्वदेशमा वार्षिक १ लाख रोजगारी दिने कार्यक्रम धेरै चुनौतीपूर्ण देखिएको छ । 

 

आर्थिक वर्ष २०७२/७३ मा सरकारले ९ हजार ५ जना बेरोजगारको तथ्यांक संकलन गरेकोमा २ सय १३ जनालाई मात्र रोजगारीका लागि सिफारिस गरेको देखिन्छ । यसरी नै आव २०७३/७४ मा १७ हजार ३ सय १८ बेरोजगार युवाको तथ्यांक संकलन गरेकोमा ७ सय ४० जनाले मात्र रोजगारी पाएको देखिन्छ । आव २०७४/७५ मा १४ हजार ९ सय २७ जना बेरोजगारको तथ्यांक संकलन गरेकोमा ७ सय ३८ लाई रोजगारीको लागि सिफरिस गरिएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । यो खबर आजको कारोबारबाट लिइएको हो ।

बेरोजगार रोजगार सूचना केन्द्र

विशेष