नेपाल र भारतबीच वार्ता भाँडिएसँगै नयाँ हवाई रुट खोल्ने विषय टर्दै, प्रधानमन्त्रीबाटै पहल सुरु
काठमाडौं । नेपाल र भारतबीच नयाँ हवाई रुट खोल्ने विषयमा दुवै पक्षबीच पुनः छलफल सुरु भएको छ । गत असोजमा नेपाली र भारतीय प्राविधिक टोलीबीच भएको वार्ता भाँडिएपछि प्रधानमन्त्री स्तरबाटै छलफल सुरु भएको हो ।
वार्ता भाँडिएसंगै नयाँ हवाई रुट खोल्ने विषय टर्दै गएपछि प्रधानमन्त्रीस्तरबाटै पुनः पहल सुरु भएको जनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका अनुसार विगतमा भएको छलफल सैद्धान्तिक सहमतिकै आधारमा अगाडि बढ्नेगरी छलफल सुरु भएको छ । 'अहिले प्रधानमन्त्रीस्तरबाट र मन्त्रीस्तर दुवैबाट पहल सुरु भएको छ,' मन्त्री अधिकारीले भने । भारत पक्षले प्राविधिकस्तरको वार्तामा अहिले रुट दिन नसक्ने जनाउ दिँदै नेपाली पक्षलाई फिर्ता गरेको थियो ।
वार्ता असफल भएको तीन महिनापछि पुनः हवाई रुट खोल्ने विषयमा परराष्ट्र, तालुक मन्त्रालय र प्रधानमन्त्रीस्तरबाट छलफल सुरु भएको मन्त्री अधिकारीले कारोबारलाई जानकारी दिए । उच्चस्तरको छलफलबाट हवाई रुटको विषय टुंग्याउन लागि रहेको समेत मन्त्री अधिकारीले बताए ।
नेपाल र भारतबीच नयाँ हवाई रुट खोल्ने सैद्धान्तिक सहमति भएको झन्डै ६ वर्ष भइसकेको छ । दुई वर्षअघि नेपाल र भारतीय प्रतिनिधिबीच भएको दुईपक्षीय वार्तामा नयाँ हवाई रुट थप गर्न सहमतिसमेत भएको थियो । तर, हालसम्म पनि कार्यान्वयनमा भने आउन सकेको छैन । कार्यान्वयन गर्ने अन्तिम प्राविधिक वार्ता भाँडिएपछि नयाँ रुट खुल्ने विषय पुनः टर्दै आएको छ । यो खबर आजको कारोबारबाट लिइएको हो ।
हवाइ रुट