News

प्रस्तावित प्रधानन्यायाधीश जबराको संसदीय सुनुवाइ आज

प्रस्तावित प्रधानन्यायाधीश जबराको संसदीय सुनुवाइ आज

काठमाडौं । प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्र शमशेर जबराको संसदीय सुनुवाइ आज हुँदैछ । सुनुवाइ समितिले दिउँसो २ बजे जबरालाई सुनुवाइका लागि आमन्त्रण गरेको छ । उनीविरुद्ध ९ वटा उजुरी परेका छन् ।

 

उनीमाथि पर्साको एक सार्वजनिक पोखरीसमेत रहेको जग्गा व्यक्तिको नाममा दर्ता गर्नेगरी फैसला गरेको विषयमा सबैभन्दा बढी उजुरी परेका छन् । त्यस्तै पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणाको दाइजो विवादमा नेपाल ट्रष्टको नाममा रहेको जग्गा दाइजो कायम गरेको विषयमा पनि उजुरी परेका छन् ।

 

जबराविरुद्ध तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर विवाद निकालेर बेञ्च बहिष्कार गरेको पनि आरोप लगाइएको छ । यस्तै, कान्तिपुर पव्लिकेशनविरुद्ध विचाराधीन अपहेलना मुद्दामा बेञ्च अवरुद्ध पारेको आरोप पनि उजुरीमा लगाइएको छ । उनीविरुद्ध आर्थिक अनियमिततालगायतका अन्य उजुरी पनि परेका छन् ।

 

यसअघि समितिले शुक्रबार जबराविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गरेको थियो । सुनुवाइपछि समितिले स्वीकृत वा अस्वीकृतको निर्णय आज नै गर्न सक्नेछ । समितिको दुई तिहाइ बहुमतबाट अस्वीकृत भएको अवस्थामा बाहेक जबरा प्रधानन्यायाधीश नियुक्तिका लागि योग्य हुनेछन् । समितिबाट स्वीकृत भएमा जबराको नियुक्तिको बाटो खुल्नेछ । वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण अवकाश पाउँदै छन् । उनले पुस १७ बाट अवकाश पाउन लागेका हुन् ।

चोलेन्द्रशमशेर राणा

विशेष