दुइटा रेल किन्दै सरकार, तीन महिनाभित्र जनकपुर–जयनगरमा गुड्ने
काठमाडौं । यातायातमन्त्री रघुवीर महासेठले तीन महिनाभित्र जनकपुर–जयनगर खण्ड (३५ किमि) मा नेपालको राष्ट्रिय ध्वजावाहक रेल कुद्ने बताएका छन् । मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा उनले दुईवटा रेल किन्न अन्तिम तयारी भइरहेको जानकारी दिए ।
‘भारत सरकारबाट लिजमा ल्याएर चलाउने कि भन्ने थियो,’ उनले भने, ‘पछि आफ्नै राष्ट्रिय ध्वजावाहक रेल चलाउने अन्तिम निर्णय भएको छ ।’ भारत सरकारबाट रेलको ‘स्पेसिफिकेसन’ आइसकेको र टेन्डर प्रक्रिया अन्तिम चरणमा रहेको महासेठले बताए । ‘दुइटै रेल एकैचोटि खरिद गर्छौं,’ उनले भने, ‘तीन महिनाभित्र पहिलो आउँछ, अर्को त्यसको एक महिनापछि ।’
रेल खरिद प्रक्रिया नेपाल–भारत सरकारबीच हुनेछ । केही दिनभित्रै सम्पूर्ण जानकारी सार्वजनिक गरिने महासेठले बताए । ‘सैद्धान्तिक सहमति भइसकेको छ, जनवरी १० (पुस २६) मा सबै सार्वजनिक गर्छौं,’ उनले भने, ‘अब अन्तिम स्वीकृति लिन मात्र बाँकी छ ।’ उक्त रेल प्रतिघण्टा सय किमि गतिमा कुद्ने क्षमताको हुनेछ ।
जनकपुर रेल्वे विस्तार तथा स्तरोन्नति परियोजना भारतको आर्थिक र प्राविधिक सहयोगमा सञ्चालन भइरहेको छ । जयनगर–जनकपुर–बर्दिबासमा १० अर्ब रुपैयाँ लागतमा ब्रोडगेज रेलमार्ग निर्माणाधीन छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।
रेल यातायातमन्त्री रघुवीर महासेठ