News

विद्यार्थीबिनाका त्रिविका विभाग

विद्यार्थीबिनाका त्रिविका विभाग

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको मुख्य द्वारबाट ३ सयमिटर दूरीमा एउटा भवनको भित्तामा ‘त्रिवि इतिहास केन्द्रीय विभाग’ लेखिएको पुरानो बोर्ड छ ।

 

न त्यहाँ विद्यार्थी देखिन्छन्, न प्राध्यापक नै । कुनैबेला खचाखच हुन्थे इतिहास विभागमा विद्यार्थी । २०३३ सालमा त्रिविमा इतिहास पढ्ने ४० जना विद्यार्थी थिए ।

 

 

२०१६ सालदेखि नै त्रिवि केन्द्रीय विभागमा स्नातकोत्तर तहमा इतिहास विषयको पठनपाठन हुन थालेको हो ।

 

 

त्रिवि मानविकी संकायअन्तर्गत स्नातकोत्तरका अन्य विषयगत विभाग पनि विद्यार्थी अभावमा सुनसान छन् ।

 

 

संस्कृति, नेपाल भाषा, नेपाली, जनसंख्या, बौद्ध धर्म, हिन्दी र भूगोल विभागमा समेत विद्यार्थीको संख्या अत्यन्तै न्यून छ ।

 

तर, न त्रिविले विद्यार्थीलाई आकर्षित गर्न सकेको छ, न त ती विभाग खारेजीमै परेका छन् । यी विभाग विद्यार्थी अभावमा भएका प्राध्यापकलाई जागिर खुवाउने माध्यम मात्र बनेका छन् ।

 

मानविकी संकायअन्तर्गत संस्कृत विषयमा यस वर्ष जम्मा २२ जना विद्यार्थी भर्ना भएका छन् । हिन्दी भाषा विषय अध्ययन गर्न दुई जना विद्यार्थी भर्ना भएका छन् । यो तथ्यांक अघिल्लो वर्ष तीन थियो ।

 


बौद्ध दर्शन विषयमा यस वर्ष आठ जना विद्यार्थी भर्ना भएका छन् । अघिल्लो वर्ष नौ जना विद्यार्थी भर्ना भएका थिए ।

 

मानविकी संकायअन्तर्गतकै जनसंख्या विषयमा यस वर्ष जम्मा २० जना विद्यार्थी भर्ना भएका छन् । अघिल्लो वर्ष ३२ जना भर्ना भएका थिए ।

 

राष्ट्रिय भाषा नेपालीमा समेत जम्मा २२ जना विद्यार्थी भर्ना भएका छन् । अघिल्लो वर्ष ४० जना भर्ना भएका थिए । भूगोल विषयको हालत पनि उस्तै छ ।

 

यस वर्ष जम्मा ३६ जना विद्यार्थी भर्ना भएकामा त्रिवि केन्द्रीय क्याम्पसमा २० जना र बाँकी १६ जना पृथ्वीनारायण क्याम्पस पोखरामा भर्ना भएको तथ्यांक छ ।

 

भर्ना भएका अधिकांश विद्यार्थी नियमित कक्षा लिन नआउँदा त्रिविको मानविकी संकाय सधैंजसो सुनसान देखिन्छ । प्राध्यापक र कर्मचारी मात्रै नियमित रूपमा आफ्ना विभागमा पुग्छन्, फर्कन्छन् ।

 


इतिहासविद्, कूटनीतिज्ञ, योजनाविद्, सामाजिक विकासका संवाहक, संस्कृतिविद्, भाषा र ज्ञानको उत्पादन गरी राष्ट्रप्रति वफादारिता र जिम्मेवारी बोध गर्न सिकाउने त्रिवि मानविकी संकायको स्नातकोत्तर तहमा हरेक वर्ष विद्यार्थी आकर्षण घटिरहेको छ । यो समाचार राजधानी दैनिकबाट लिइएको हो । 

 

त्रिभुवन विश्वविद्यालय

विशेष