निर्मलाको पोस्टर जति च्यातो, उति भाइरल
काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको स्केचसहितको पोस्टर छ्यापछ्याप्ती देखिए–१३ गते बिहान राजधानीका मुख्य चोकहरूमा ।
पोस्टरमा उनको स्केच मात्रै थिएन, ‘सरकार भेटियो न्याय भेटिएन’ र ‘ह्यासटयाग इम्प्युनिटी, जस्टिस डिलेड इज जस्टिस डिनाइड’ पनि लेखिएको थियो ।
जसरी सरकारले ११ गते राजधानीवासीलाई अचम्मित पार्ने गरी ‘नयाँ युगको सुरुवात’ लेखिएको नारासहित प्रधानमन्त्री मुस्कुराइरहेको पोस्टर टाँगेको थियो ।
निर्मलाका लागि न्याय मागिएको पोस्टर सहरभरि फैलाउन उस्तै तरिका अपनाइएको थियो ।
पोलपोलमा प्रधानमन्त्रीका पोस्टर जसरी टाँगिएका थिए, त्यसरी नै निर्मलाका पोस्टरले पोलबाटै न्याय मागिरहेका थिए ।
प्रधानमन्त्रीको तस्बिरसहित नारा फैलाउन सरकारी कोष र सरकारको आह्वानमा निजी क्षेत्रले लगानी गरेको थियो भने निर्मलाको न्याय माग्न सार्वजनिक हुन नचाहने तन्नेरीको एउटा समूह थियो । एउटा प्रचारको तरिका थियो, अर्को न्यायको खोजी ।
प्रहरीले न्याय माग्ने ती पोस्टरलाई च्यातेन मात्र, टाँस्ने केहीलाई पक्राउसमेत गर्यो । न्याय खोज्नेहरू झनै उत्साहित भए ।
पोल र भित्तामा पोस्टर त टाँगिएका थिए नै, सोमबारसम्म आइपुग्दा देशव्यापी रूपमा सवारी साधनमा स्टिकर टाँसिन थालेका छन् ।
न्याय माग्ने अभियान भाइरल बन्दै गएको छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।
निर्मलाको पोस्टर