News

मेलम्चीको पानी सुन्दरीजल आइपुग्न ४ महिना लाग्ने

मेलम्चीको पानी सुन्दरीजल आइपुग्न ४ महिना लाग्ने

काठमाडौं । मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुग्न कम्तीमा १ सय ३० दिन लाग्ने भएको छ ।

 

आयोजनाको निरीक्षणका लागि मंगलबार सुन्दरीजल पुगेको राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिलाई आयोजनाले यस्तो जानकारी गराएको हो ।


तर, खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले आइतबार विकास समितिमा बोल्दै ६० दिनभित्र मेलम्चीको काम सकिने दाबी गरेका थिए ।

 

आयोजना निर्माणको अवस्थाबारे जानकारी गराउँदै कार्यकारी निर्देशक सूर्य कँडेलले अहिलेकै गतिमा काम भए मेलम्चीबाट सुन्दरीजलसम्म पानी ल्याउन कम्तीमा १ सय ३० दिने लाग्ने जानकारी गराए ।

 

भौतिक संरचना निर्माणको काम थोरै मात्र बाँकी भए पनि यसलाई सिध्याउन अझै ४ महिनाभन्दा बढी लाग्ने उनले बताए ।

 

कँडेलका अनुसार मेलम्चीबाट सुन्दरीजलसम्म पानी ल्याउने सुरुङको करिब १७ सय मिटर क्षेत्रमा फिनिसिङको काम बाँकी छ ।

 

‘फिनिसिङको काम रफ्तारमा भइरहे पनि करिब ३८ मिटर क्षेत्र संवेदनशील भएकाले त्यसको काममा अलि ढिलाइ हुन्छ,’ उनले भने, ‘फिनिसिङको कामका लागि करिब ३० दिन लाग्ने अनुमान छ ।’

 

मेलम्चीदेखि सुन्दरीजलसम्म पानी ल्याउने सुरुङको तीन ठाउँमा प्वाल बनाएर हावा बहिर्गमनका लागि व्यवस्था गर्न बाँकी रहेको उनले बताए । ‘दुईवटा भेन्टिलेसन सफ्ट बनाउन बाँकी छ,’ उनले भने, ‘यो काम पनि ३० दिनमा सक्ने लक्ष्य छ ।’

 

आयोजनाका लागि हाइड्रोमेकानिकलको जडान गर्न करिब एक महिना लाग्ने उनले बताए । सुन्दरीजलमा वितरण पाइप जडान गर्न पनि एक महिना लाग्ने उनले बताए ।

 

सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको भौतिक निर्माणको काम पूरा सकिएपछि पानीको अवस्था थाहा पाउने सेन्सरसहितका उपकरण जडान गर्न करिब ४५ दिन लाग्ने कँडेलले जानकारी दिए ।

 

‘मेलम्चीदेखि सुन्दरीजलसम्मको मुख्य संरचना निर्माणका लागि अहिलेकै गतिमा काम भए कम्तीमा पनि १ सय ३० दिन लाग्छ,’ उनले भने, ‘वितरण प्रणाली पनि करिबकरिब तयारी अवस्थामा छ ।’

 

मेलम्चीदेखि काठमाडौंमा पानी ल्याएर १० वटा पानी भण्डारण केन्द्रबाट उपभोक्ताको घरघरमा वितरण गर्ने योजना छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

मेलम्ची सुन्दरीजल

विशेष