शिव सेनाले आन्दोलनको विगुल फुक्यो
काठमाडौं । हिन्दुराष्ट्र र राजसंस्थाको माग गर्दै शिव सेना नेपालले रुपन्देहीमा प्रदर्शन गरेको छ ।
प्रदर्शनमा सहभागीहरुले हिन्दुराष्ट्र, राजसंस्थाको पक्षमा नाराबाजी गरेका थिए । देशव्यापीरुपमा प्रदर्शन र आन्दोलनको तयारीमा रहेको शिव सेना नेपालका कार्यकर्ताले केही दिन अघि वीरगञ्जमा पनि प्रदर्शन गरेका थिए ।
जुलुसमा सहभागीहरुले ‘राजा आऊ, देश बचाऊ’ ‘संघीयता चाहिँदैन देश बेच्न पाइँदैन’ ‘जनता जागौं, राजा ल्याऔंं’ ‘राष्ट्रवादी एकता जीन्दावाद, शिव सेना नेपाल जीन्दावाद’ जस्ता नारा लगाएका थिए ।
भैरहवामा निकालिएको जुलुस बुद्धचौक, नारायणपथ, मिलनचौक हुँदै उद्योगपुरी, रामजानकी हनुमाननगरको प्रांगण पुगेर कोणसभामा परिणत भएको थियो । सभाका वक्ताहरुले मुलुकमा इसाइकरण बढेको, हिन्दुधर्ममाथि धावा बोलिएको धारणा राखे । उनीहरुले नयाँ संविधानले मुलुकको समस्या समाधान नहुने भन्दै हिन्दुराष्ट्रसहितको राजसंस्था हुनुपर्ने माग गरे ।
सभामा शिव सेनाका अनिल जैसवाल , विपिन मल्लिक, केशव शाही ,आनंदप्रसाद गुप्ता , पूरन राना, प्रकाश चित्रकार, शारदा पोखरेल, श्रीराम गुप्ता, साधना पोखरेल, विपिन मलिक, नरेन्द्र रौनियारसहितले धारणा राखे ।
शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘बाबा’ले ‘अबको अन्तिम बाटो सडक नै हो’ भन्ने कार्यक्रम र निर्देशनअनुसार शिव सेनाका नेता कार्यकर्ताहरु देशभर क्रियाशील भएका छन् ।