News

यी हुन् सबैभन्दा बढी भ्रष्टाचार हुने सरकारी कार्यालय

यी हुन् सबैभन्दा बढी भ्रष्टाचार हुने सरकारी कार्यालय

काठमाडौं । ‘म भ्रष्टाचार गर्दिनँ’ भनेर हरेक दिन कर्मचारीले सपथ लिए पनि भ्रष्टाचार रोकिएको छैन।

 

सुशासन र सदाचार कायम गर्न हरेक दिन कर्मचारीले लिने सपथको बेहोरा यस्तो छ– म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ, म मेरो देश र जनताका लागि इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्छु।

 

तर, यसरी दिनहुँ सपथ लिने राष्ट्रसेवक कर्मचारीले घुस खान भने छाडेका छैनन्। खासगरी सेवाग्राहीको चाप हुने निकायमा कार्यरत कर्मचारीले घुसबिना काम गर्दैनन् भन्ने जनगुनासो व्याप्त छ।

 

समय–समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा पक्राउ गरेका कर्मचारी र भ्रष्टाचार गरेको आरोपमा चलाएका मुद्दा हेर्दा जनगुनासोमा सत्यता देखिन्छ।

 

असोज १६ गते सरकारका मुख्यसचिवको निर्णयबमोजिम जनतालाई सुशासन दिलाउन र प्रशासन संयन्त्रलाई भ्रष्टारमुक्त वातावरणमा सञ्चालन गर्न हरेक दिन कर्मचारीले सपथ लिनुपर्ने व्यवस्था भएको हो।

 

दिनहुँ भ्रष्टाचार नगर्ने प्रतिज्ञा गरेका कर्मचारीको आचरण भने नसुध्रिएको नागरिकले अनुगमनका क्रममा फेला पारेको छ।

 

सार्वजनिक सेवा प्रवाह गर्ने काठमाडौं र ललितपुरका १५ वटा सरकारी कार्यालयमा सेवा लिन पुगेका सात सयभन्दा बढी सेवाग्राहीले कर्मचारीमा भ्रष्ट मनोवृति कायमै रहेको बताए। उनीहरूसँग कर्मचारीको कार्यशैली र सेवा प्रवाहबारे सोधिएको थियो।

 

काठमाडौंस्थित कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरं, मालपोत कार्यालय डिल्लीबजार, मालपोत कार्यालय चाबहिल, मालपोत कार्यालय कलंकी, मालपोत कार्यालय मनमैजु, नापी कार्यालय डिल्लीबजार, नापी कार्यालय चाबहिल, नापी कार्यालय कलंकी, श्रम कार्यालय ताहाचल, जिल्ला अदालत, यातायात कार्यालय ठूलो भर्याङ, यातायात कार्यालय, गुर्जुधारा तथा ललितपुरका मालपोत कार्यालय, नापी कार्यालय र यातायात कार्यालय, एकान्तकुनामा सेवा लिन पुगेका सेवाग्राहीसँगे सेवाप्रवाहमा संलग्न कर्मचारीले घुस नलिई काम गरे÷नगरेको विषयमा केन्द्रित भएर अध्ययन गरिएको थियो।

 

काठमाडौं र ललितपुरका विभिन्न १५ वटा सार्वजनिक सेवा प्रवाह गर्ने सरकारी कार्यालयमा सेवा लिन पुगेका ७ सय १५ सेवाग्राहीसँग कुरा गर्दा ५ सय ४ जना अर्थात् ७० प्रतिशतले कर्मचारीलाई घुस दिएर मात्र आफ्नो काम गराएको बताए।

 

विभिन्न १५ वटा सार्वजनिक सेवा प्रवाह गर्ने निकायमा सेवा लिन पुगेका ७ सय १५ सेवाग्राहीसँग कुराकानी गर्दा ५ सय ४ जना अर्थात् ७० प्रतिशतले कर्मचारीलाई घुस दिएर मात्र आफ्नो काम गराएको बताए। सेवाग्राहीका अनुसार घुस खानेमा सबैभन्दा अघि नापी कार्यालयका कर्मचारी छन्।

 

कम्पनी रजिष्ट्रारको कार्यालय र मालपोतका कर्मचारी पनि घुस लिने मामिलामा अग्रस्थानमै रहेको पाइएको छ।

 

नापी कार्यालय डिल्लीबजारमा सेवा लिन पुगेका ४५ मध्ये ३८ जना अर्थात् ८४ प्रतिशतले सेवा लिन कर्मचारीलाई घुस दिनुपरेको बताए।

 

कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा सेवा लिन पुगेका ७० मध्ये ५४, भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारमा सेवा लिन पुगेका ५० मध्ये ३८, मालपोत कार्यालय चाबहिलमा सेवा लिन पुगेका ५० मध्ये ३६, मालपोत कार्यालय कलंकीमा सेवा लिन पुगेका ४५ मध्ये ३७ र मालपोत कार्यालय मनमैजुमा सेवा लिन पुगेका ३५ मध्ये १९ जनाले काम गराउँदा कर्मचरीलाई घुस दिएको बताए।

 

त्यसैगरी नापी कार्यालय चाबहिलमा सेवा लिन पुगेका ३५ मध्ये २६, नापी कार्यालय कलंकीमा सेवा लिन पुगेका ३० मध्ये २४, श्रम कार्यालय ताहाचलमा सेवा लिन पुगेका ६० मध्ये ४०, काठमाडौं जिल्ला अदालतमा सेवा लिन पुगेका १०० मध्ये ७४, यातायात कार्यालय ठूलो भर्याङमा सेवा लिन पुगेका ३५ मध्ये १८ र यातायात कार्यालय गुर्जुधारामा सेवा लिन पुगेका ३० मध्ये १७ जनाले घुसबिना कर्मचारीले कामै नगर्ने बताए।

 

त्यस्तै नापी कार्यालय ललितपुरमा सेवा लिन पुगेका २५ मध्ये १९, मालपोत कार्यालय ललितपुरमा सेवा लिन पुगेका २५ मध्ये १५ र यातायात कार्यालय ललितपुरमा सेवा लिन पुगेका ८० मध्ये ४९ जनाले कर्मचारीले घुस मागेको बताए।

 

सेवाग्राहीका अनुसार अधिक जनसम्पर्क हुने सरकारी कार्यालय ‘भ्रष्टाचारको अखडा’ बन्दै गएका छन्। यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।

भ्रष्टाचार सरकारी कार्यालय

विशेष